काठमाडौं : एसीसी युथ एसिया कपमा नेपाल श्रीलंकासँग १ रनले पराजित भएको छ।
जित नजिकै रहेको अवस्थामा अन्तिम ओभरको तेस्रो बलमा दिपेन्द्र सिंह ऐरी आउट भएपछि नेपाल १ रनको साँघुरो अन्तरले पराजित भएको हो। २२८ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल बाँकी छँदा २२६ रनमा अलआउट भयो। दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ९० रन बनाएपनि उनी जित दिलाउनबाट चुके।
अन्तिम ९ बलमा नेपालको ३ विकेट झरेको थियो।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय २७ रन बनाएको हो। श्रीलंकाको लागि हासिथा बायोगाडाले सर्वाधिक ८३ रन बनाए। १०६ बल खेलेका उनले १२ चौका प्रहार गरे। त्यसबाहेक कृसान सान्जुलाले २८ रन जोडे।
नेपालको तर्फबाट कमल सिंह ऐरीले ३ विकेट लिए भने पवन सराफले २ तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए। श्रीलंकाका २ खेलाडी रनआउट भए।
नेपालले अब समूह चरणको दोस्रो खेलमा शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।