भक्तपुर : उच्च माध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको कक्षा ११ को परिक्षामा ५१ दशमलव ७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परिक्षाफल अनुसार दुई लाख ६६ हजार एक सय तीन सहभागी भएकामा एक लाख ३७ हजार ६०५ परीक्षार्थी उत्तीर्ण भएका छन् । गत वर्षभन्दा यस वर्ष २ दशमलव ५१ प्रतिशत परीक्षार्थी बढी उत्तीर्ण भएका हुन् ।
परीक्षामा सहभागीमध्ये ३३ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । परीक्षामा एक विषय अनुत्तीर्ण विद्यार्थीका लागि बोर्डले आगामी माघ ८ गते परीक्षा लिने निर्णय गरेको छ ।
बोर्डले कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल गत मङ्गलबार सार्वजनिक गरेको थियो । विगतका वर्षमा कक्षा ११ को नियमित र आंशिकको नतिजा एकै पटक प्रकाशन गर्ने गरे पनि यस पटक भने नियमित परीक्षाको नतिजाभन्दा अगाडि नै आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको थियो ।
कक्षा १२ उत्तीर्ण भइसकेका तर कक्षा ११ को आंशिक परीक्षा दिएका परीक्षार्थीमध्ये उत्तीर्णले यसै वर्ष स्नातक तह भर्ना हुन पाऊन् भनेर नियमित परीक्षाभन्दा आंशिक परीक्षाको परीक्षाफल एक साताअघि नै सार्वजनिक गरिएको हो । रासस