
पोखरा : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा कुनै पनि दलले विमति राख्नुपर्ने कारण नै नभएको बताएका छन्।
प्रेस सेन्टर नेपाल कास्की शाखाले शुक्रबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले विगतमा प्रतिपक्षी दलले नै अघि सारेको प्रस्तावलाई संसदमा लगिएको बताए। ‘यसमा विगतमा सबै दलहरु सहमत थिए, अहिले त्यही प्रस्तावको विरोध गर्नुको कुनै अर्थ छैन,’ उनले भने ‘अहिलेको प्रस्तावले राष्ट्रिय हित र एकतामा कुनै आँच आउँदैन।’ संविधान संशोधन प्रस्ताव फिर्ता नहुने भन्दै उनले बरु असन्तुष्ट प्रतिपक्ष एवम् आन्दोलनरत दलसँग छलफलका आधारमा परिमार्जन गरेर अघि बढ्न सकिने प्रस्ट पारे।
‘सरकारले संशोधन प्रस्ताव सबैलाई सहमति हुने किसिमले ल्याएको हो, झन्डै चार महिना लगाएर संशोधन प्रस्ताव ल्याइएको हो,’ उनले भने, ‘प्रतिपक्ष, मधेसी मोर्चा, थारु, सङ्घीय गठबन्धनसँग धेरै छलफलपछि मात्र संशोधन प्रस्ताव ल्याइएको हो।‘
संशोधन प्रस्ताव अङ्गीकृतलाई राष्ट्रपति बनाउने, हिन्दी भाषालाई राष्ट्रभाषा बनाउने, देश विखण्डन गर्ने गरी ल्याउने प्रचार गरिए पनि नेपाली जनतालाई चोट पुर्याअउने केही विषय त्यसमा नरहेको उनको भनाइ थियो।
आफूले गर्दा राष्ट्रवादी हुने, अर्कोले गर्दा राष्ट्रघाती हुने भन्ने हुँदैन भन्दै उनले एमालेलाई व्यंग्य गरे।
संशोधन प्रस्ताव, महाअभियोग र निर्वाचन कार्यक्रम घोषणा प्रस्ताव प्याकेजमा नै सहमति गर्ने गरी प्रमुख प्रतिपक्षीसँग प्रयास भइरहेको उनले बताएका छन्। सरकारले सुरुमा स्थानीय तहको नै निर्वाचन गर्ने जानकारी गराउँदै उनले त्यसपछि प्रदेश र केन्द्रको निर्वाचन गर्ने बताए। ‘अस्ति मात्र शेरबहादुर देउवा, केपी ओलीसँगको छलफलमा अहिलेको स्थानीय निकायलाई नै स्थानीय तह बनाएर निर्वाचनमा जाने कि भन्नेबारे छलफल भएको थियो,’ उनले भने, ‘त्यसबारे निष्कर्षमा पुग्न बाँकी नै छ।’