PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

'खारेज' भएको 'बिस' नै राष्ट्र बैंकको नयाँ नोटमा, वर्णविन्यासमा झन् अन्योल



पहिलोपोस्ट

'खारेज' भएको 'बिस' नै राष्ट्र बैंकको नयाँ नोटमा, वर्णविन्यासमा झन् अन्योल

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले अहिले चलनचल्तीमा रहेको शब्दकोश खारेज गरी नयाँ निर्माण गर्ने निर्णय गरेसँगै नेपाली भाषा विवाद अलि मत्थर भएको छ। भाषाका प्रयोक्ता कुरिरहेका छन्- नयाँ शब्दकोश कहिले आउला?

फूल कि फुल, शहीद कि सहिद, बीस कि बिस जस्ता अन्योलले धेरैलाई सताएको छ। आजैबाट नेपाल राष्ट्र बैंकले बजारमा ल्याएको २० रुपैयाँ दरका नयाँ नोटले भने यो अन्योललाई थपिदिएको छ। भाषाविद्हरुलाई यो विषयले पनि अब झकझक्याएको छ।

केही डिजाइन परिवर्तन गरेर ल्याइएको २० को नोटमा ‘बिस’ ह्रस्व लेखिएको छ। अघिल्लो नोटमा 'बीस' दीर्घ थियो। (हेर्नुस्, नयाँ नमुना नोट र पुरानो नोट)

वर्णविन्यास, पदयोग-वियोग जस्ता विवाद साम्य पार्न प्रतिष्ठानले वर्तमान शब्दकोशका त्यस्ता विवादित शब्द प्रयोग नगर्ने निर्णय गरिसकेको छ। बृहत् शब्दकोश २०४० मा प्रविष्टि पाएका आगन्तुक शब्दहरुमा भने मानक प्रयोगलाई चलाउने प्रतिष्ठानले भनिसकेको छ। यसैगरी शहीद, कानून, गरीब पुरानै प्रयोगअनुसार गर्ने प्रतिष्ठानको पत्रको निर्णय मान्दा बीस दीर्घ नै लेख्नुपर्ने हुन्छ। गएको मंसिर १ गते मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका संयोजक प्राडा खगेन्द्रप्रसाद लुइटेललाई पठाएको पत्रमा यस्ता केही निर्णय गरिएको छ।

सञ्जालका संयोजक लुइटेल संख्यावाचक शब्द पहिले दीर्घ लेखिँदै आएकाले त्यही सही भएको बताउँछन्। अबको शब्दकोशमा सबै गल्ती सच्याउन सुझाव दिइसकिएको उनले बताए। 

मृगको ठाउँमा बाह्रसिंगे


यसअघिको २० को नोटमा एउटा मृगको तस्बिर थियो। नयाँ नोटमा त्यसको साटो दुई वटा बाह्रसिंगेको तस्बिर राखिएको छ। गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर भएको यो तेस्रो नोट हो। डा. नेपालको हस्ताक्षर भएको ५० र १०० दरका नोट चलनचल्तीमा आइसकेका छन्।

राष्ट्र बैंकले २० का नयाँ नोट २१ करोड रुपैयाँ बराबरको छापेको छ। यसमध्ये एक करोड ५० लाख रुपैयाँ बराबरको नोट चलनचल्तीमा पठाउन लागिएको हो।

नयाँ नोटको अगाडिको देब्रे भागमा सगरमाथाको चित्र छ। दाहिनेतिर लालीगुराँसको पानीछाप छ। नोटको तल्लो भागको बोर्डमा नोटको सेरिज नम्बर नेपालीमा वि. सं. २०७२ लेखिएको छ। यो गभर्नरको हस्ताक्षरको तलपट्टि छ।

नोटको अर्कोतिरको मध्यभागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ। नोटको मध्य भागमा दुई वटा बाह्रसिंगेको चित्र छ भने तल्लो भागको बोर्डरमा अंग्रेजीमा 'रुपीज ट्वेन्टी' लेखिएको छ। साथै तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा ‘२०१६ एडी’ लेखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell