
पोखरा : नेकपा एमालेका सचिव योगेश भट्टराईले व्यवस्थापिका संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव सरकारले फिर्ता लिई मुलुकको गतिरोध अन्त्य गर्नुपर्ने बताएका छन्।
पोखरा रङ्गशालामा आजदेखि सुरु भएको अन्तर स्थानीय निकाय कर्मचारी सङ्घ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै उनले पहाड र तराईलाई छुट्याएर मुलुकलाई बिखण्ड गर्ने खालको संशोधन मुलुक र जनताको हितमा नरहेको बताए।
पार्टी प्रचार विभाग प्रमुख समेत रहनुभएका सचिव भट्टराईले ‘जब नेपाली टिम राष्ट्रका लागि विदेशमा खेल्छ, त्यो हिमाली, पहाडी र तराइवासी हुँदैन, नेपाली हुन्छ’ भन्दै खेलले मात्र सबैलाई समेटेको धारणा राखे।
स्थानीय निकायका कर्मचारीबीच आपसी भाइचारा र सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित सो प्रतियोगितामा मुलुकका २५ जिल्लाका स्थानीय निकायबाट डबल र सिङ्गलतर्फ ३१/३१ टिम सहभागी छन्।