PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'हामी' कविता शृंखलामा सुनिए रञ्जना र रामगोपाल



पहिलोपोस्ट

'हामी' कविता शृंखलामा सुनिए रञ्जना र रामगोपाल

काठमाडौं : हरेक महिनाको १ गते हुने कविता शृंखला ‘हामी कवि र कविता’मा आज रामगोपाल आशुतोष र रञ्जना निरौला प्रस्तुत भए।
 
राजधानीको कालिकास्थानमा रहेको सर्वनाम थिएटरमा भएको वाचनमा पहिले उपस्थित भएकी रञ्जनाले ‘आमा, म र छोरी’बाट कविता सुरु गरिन्। तीन पुस्ताबीचको समाज परिवर्तनलाई उनको कविताले चित्रित गरेको थियो। ‘वर्तमानको देश’मा महाभारतकालीन युगसँग देशको समय दाँज्दै शुकनिको षड्न्त्र र धृतराष्ट्रको पुत्रमोहमा देश नफसोस् भन्ने कामना गरेकी उनले ‘ढुंगा र देउता’मा देउता बनाउने मान्छेले फूलको चित्कार किन नसुनेको भनी प्रश्न गरिन्।
 
‘तिमीसँग भेट नभएको भए’, ‘जीवन’, ‘मलाई आगो बन्नुछ’, ‘सपना’, ‘तिमी मान या नमान’, ‘अनुभूतिमा छोरी’, ‘तिमी मेरो गुलाब’ लगायतका ११ कविता सुनाएर उनी बिदा भइन्।
 
‘एक अर्गानिक प्रेम प्रस्ताव’सहित मञ्चअगाडि पुगेका अर्का कवि रामगोपालले कवितामा पनि अर्गानिक विम्बलाई प्रस्तुत गरे। आफूले यो कविता पहिले नेपाल भाषामा लेखेको उनले उपस्थित दर्शक/स्रोतालाई जानकारी गराए।
 
उनको दोस्रो कविता पनि प्रेमसँग सम्बन्धित थियो। आमालाई प्रेमको पाठशाला र बालाई पाठ्यक्रमको रुपमा अर्थ्याउँदै उनी बाल्यकालीन स्मृतिमा पुगे र पहिलोपटक आमाले म्वाइँ खाएको दाहिने गालामै डिम्पल पर्ने गरेको काव्यात्मक अभिव्यक्ति पस्किए।
 
‘शब्दहरु ए शब्दहरु’मा विभिन्न कविका शक्तिशाली कविता लिंक गर्दै शब्दहरुलाई मौन नरहन आग्रह गरेका उनले अंगीतकृत नागरिकताको बहसलाई ‘अंगीकृत’मार्फत सुनाए। ‘इतिहास नजान्नेलाई’, ‘पहिचान’, ‘फोटोग्राफ’, ‘बा’, ‘अप्रिय’, ‘वाली भाइरस’सँगै ‘भोकको रामायण’ सुनाएर उनले आफ्नो वाचनलाई बिट मारे।
 
‘हरेक महिनाको सुरुवात केही राम्रा कविता सुनेर गरौं’ नारा सहित लूनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरले कार्यक्रम गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell