PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

आफूलाई 'हाइप्रोफाइल' देखाएर राजधानीमा लुट्नेहरु सलबलाउँदै, डेढ वर्षमा साढे ३ अर्ब रकम ठगी



सविन ढकाल

आफूलाई 'हाइप्रोफाइल' देखाएर राजधानीमा लुट्नेहरु सलबलाउँदै, डेढ वर्षमा साढे ३ अर्ब रकम ठगी

काठमाडौं : राजधानीमा चोरी, लुटपाट, हत्या लगायतका जघन्य अपराधहरु केही वर्षयता घट्दै गएको प्रहरीले दाबी गरे पनि ठगीबाट लुटिने व्यक्तिको संख्या भने बढ्दै गएको देखिन्छ।
 
महानगरीय अपराध अनुसन्धान महाशाखामा केही महिनायता ठगीका उजुरी बढ्दै गएका छन्। डेढ वर्षमा १२ सय १२ उजुरी ठगी अन्तर्गतका परेका छन्। आर्थिक वर्ष २०७१/७२ मा ४ सय ५ वटा मात्र ठगीका उजुरी दर्ता भएकोमा ७२/७३ मा दोब्बर भई ८ सय ५ पुगेको थियो। चालू आर्थिक वर्षको मंसिरसम्म आइपुग्दा ४ सय ७ वटा उजुरी दर्ता भइसकेका छन्। ठगीमा परेका उजुरीमध्ये ४ सय ९२ वटा उजुरीलाई दुई पक्षको मिलापत्रमा नै मिलाइएको छ। १ सय ९७ वटा उजुरीलाई काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको छ। महाशाखा ठगी पिल्लर शाखा हेर्ने प्रहरी निरीक्षक गोविन्थ पन्थी भन्छन्, ‘आफूलाई हाइप्रोफाइलको देखाएर ठगी गर्ने बढी देखिएका छन्।’
 

१८ महिनामा ३ अर्ब ५१ करोडको ठगी

नेताको पिए, जर्मनीको नागरिकता भएको तथा राजदरबारसँग निकट सम्बन्ध रहेको भन्दै ठगीको जालमा पार्नेको कमी देखिँदैन। विदेश पठाइदिने, पिआर बनाइदिने लगायतका झुटा सपना देखाएर विभिन्न व्यक्तिसँग ठगले १ लाख देखि १ करोड रुपैयाँसम्म ठगी गरेको पाइएको छ। राजधानीबाट नै विभिन्न व्यक्तिबाट १८ महिनामा ३ अर्ब ५१ करोड ठगी गरेको पाइएको छ। ४ अर्ब बराबरको रकम ठगी भए पनि काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएका ठगीको बिगो रकम दाबी भने ५६ करोड बराबर मात्र रहेको छ। सबैभन्दा बढी ठगीको रकम वैदेशिक रोजगार र म्यानपावर व्यवसायी अन्तर्गत पर्ने गरेका छन्।
 

मेनपावर र कन्सल्टेन्सीको ठगी बढी

वर्षभरि महाशाखामा परेको उजुरीलाई केलाउने हो भने सबैभन्दा बढी ठगी गर्ने मेनपावर व्यवसायी र कन्सल्टेन्सी सञ्चालक नै छन्।
 
ठगीमा परेका १२ सय उजुरीमध्ये ५ सयभन्दा बढी उजुरी वैदेशिक रोजगारीकै रहेको छ। १८ महिनामा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको १ सय ९७ उजुरीमध्ये ७७ वटा उजुरी कन्सल्ट्यान्सी र म्यानपावरका ठगी सम्बन्धी छन्।
 
आर्थिक वर्ष २०७२/७३ मा ४४ वटा कन्सल्टेनसी र १२ म्यानपावरलाई मुद्दा चलाइएको छ। त्यस्तै आर्थिक चालू आर्थिक वर्षको सुरुमा नै २१ वटा कन्सल्टेन्सीलाई मुद्दा चलाइसकिएको पन्थीले बताए।
 
सबैभन्दा बढी खाडी मुलुकहरु मलेसिया, दुबई, साउदी पठाउने भनेर ठग्नेहरुमाथि ४० वटा मुद्दा चलाइएको छ। अमेरिका पठाइदिने भन्दै ठगी गर्ने ११ मुद्दा अदातल पुगेका छन्। चालू आर्थिक वर्षमा मात्र विदेश पठाइदिने भन्दै ठगी गर्ने २५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना महिला समेत छन्। उजुरी परेका मध्ये अझै ५० जनाभन्दा बढी प्रहरीको आखा छलेर भागि रहेको महाशाखाले जनाएको छ।
 

१८ महिना ठगी गर्ने ३१३ पक्राउ

प्रहरीले १८ महिनामा परेको १२ सय उजुरीमध्ये ठगी गर्ने ३१३ जनालाई पक्राउ गरेको महाशाखाले जनाएको छ।
 
परेका उजुरीमध्ये अझै पनि एक सय जना फरार नै छन्। ठगी गरेपछि उनीहरु केही समय भारत र खाडी मुलुकमा लुकेर बस्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। कतिपय मोटो रकम लिएर युरोप, अमेरिका लगायतका देशमा गएर बसेको पनि देखिएको छ।
 
चालू आर्थिक वर्षमा मात्र मेनपावर र कन्सल्टेन्सीबाट ठगी गर्ने २५ जनालाई प्रहरीले पक्राउ गरेको छ। 
प्रतिकात्मक तस्विर : www.hedgeconnection.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell