
काठमाडौैः सरकारी कार्यालयमा हुने पत्राचारको खाममा अहिले पनि अतिगोप्य र गोप्य लेखिएका छाप देखिन्छन् । सम्बन्धित ब्यक्ति बाहेक अन्यले खाम नखोलुनुन् भनेर स्टिच लगाइए पनि खाममा अतिगोप्य र गोप्य भनिएका छाप लगाइदै आएको भेटिन्छ ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटाका अनुसार यस्ता दुबै छाप गैर कानुनी हुन् । धुलिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आयोगले अतिगोप्य र गोप्य भन्ने छाप हटाउन निर्देशन दिए पनि सरकारी कार्यालयहरुले अझै त्यस्ता छाप प्रयोग गरेर निर्देशन अटेर गरिरहेको बताउँदै भने‘ त्यस्ता छाप प्रयोग नगर भनेर निर्देशन दिइसकेका छौं, तर पालना भएको छैन ।’
उनले अति गोप्य, गोप्य भनेर छाप लगाउनु सूचनाको अधिकार विरुद्धको काम भएको समेत बताए । सूचनाको अधिकार सम्बन्धी ऐनमा तोकिए अनुसारको सूचना सार्वजनिक हुनेपर्ने र सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने भए पनि अझै समस्या रहेको उनले बताए ।
सूचना अधिकारीलाई तस्विर राख्नोस् भन्दा 'चोर हौं र !' भने
सरकारी निकायको सूचना माग्न आउनेसँग सम्पर्कका लागी सूचना अधिकारी तोक्नुपर्ने कानुनी प्रावधान छ । त्यसको कार्यान्वयन र सूचना अधिकारीलाई चिन्न सहज होस् भनेर आफूले सम्बन्धित वेबसाइटमा मन्त्री, सचिवको तस्विर राखेझै सूचना अधिकारीको समेत तस्विर राख्न सुझावदिँदा‘त्यसरी फोटो त चोरको मात्रै राख्छन्’ भन्ने जवाफ आएको अनुभव सुनाए बाँस्कोटाले ।‘एँ त्यसो भए मन्त्री र सचिव चै चोर जस्ता हुन् भनेर प्रतिवाद गरेपछी बल्ल सहमत भए,’ उनले भने‘अहिले साइटमा मन्त्री र सचिवसँगै सूचना अधिकारीको समेत तस्विर राख्न शुरु भएको छ ।’