काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले गरेको कवुलियत अनुसार संविधान संशोधन प्रस्ताव आएको दावी गरेका छन्।
ओलीले आफू नझुक्दा प्रधानमन्त्रीबाट हट्नुपरेको दावी समेत गरे। अखिल नेपाल बुद्धिजीवी सङ्घको कार्यक्रममा बोल्दै उनले संविधान संशोधन विधेयकले राष्ट्रिय हितलाई भविष्यमा खतरामा पार्ने भएकाले संसद्बाट पास हुन नदिने बताए।
'विधेयकका कुनै पनि बुँदा समर्थन गर्न योग्य छैनन्', उनले भने– ‘सबै बुँदामा देशलाई अहित गर्ने कुरा लुकेर बसेका छन् । त्यसैले विधेयकलाई संशोधन गरेर पास गर्ने अवस्था छैन ।' विधेयक राष्ट्रियताको प्रश्नसँग जोडिएर आएकाले संसद्मा प्रवेश गर्न नदिएको उनको दावी थियो।
'‘विधेयक राष्ट्रियतालाई मजबुत नभई कमजोर बनाउने खालको छ”, उनले भने– “विधेयक राष्ट्रिय हितका पक्षमा नभएकाले संसद्मा प्रवेश नै गर्न नदिएका हौँ ।'
आफूसँग प्रधानमन्त्री प्रचन्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन गर्ने सहमति गरे पनि संसद्मा स्थानीय तहको विधेयक दर्ता गराएर निर्वाचन गर्न नचाहेको शन्देस दिएको उनले दावी गरे।