
काठमाडौं : सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले शनिबार विजयी सुरुवात गरेको छ।
सुनसरीको दुहबी रंगशालामा भएको समूह ‘क’ को लिग खेलमा कप्तान लक्ष्मी पौडेलले दुई गोल गरेपछि एपीएफले पश्चिमाञ्चललाई ३-० ले पराजित गर्यो। एपीएफले निर्धारित ७० मिनेटको खेलको पहिलो हाफमा २ तथा दोश्रो हाफमा १ गोल गरेको थियो।
लक्ष्मी पौडेलले १२ औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाइन्। लक्ष्मीले नै २२ औं मिनेटमा गोल गर्दै एपीएफको अग्रतालाई दोब्बर बनाइन्। अनिता केसीले ५५ औं मिनेटमा टिमका लागि तेश्रो गोल गरिन्।
समूह ‘ख’ को लिगमा पूर्वाञ्चल र मध्यमाञ्चलबीचको खेल गोलरहित बराबरीमा टुंगियो। आइतबार सुदूरपश्चिमाञ्चल र नेपाल प्रहरी क्लब तथा मध्यपश्चिमाञ्चल र नेपाली सेनाबीच खेल हुनेछ।
फुटबलमा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीसहित ८ टिम सहभागी छन्। सहभागीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइएको छ। महिला फुटबलको फाइनल पुस ९ गते हुनेछ। समूह ‘क’ मा पश्चिमाञ्चल र एपीएफसहित सुदूरपश्चिमाञ्चल र प्रहरी छन्। त्यस्तै समूह ‘ख’ मा पूर्वाञ्चल र मध्यमाञ्चल बाहेक मध्यपश्चिमाञ्चल र सेना रहेका छन्।
सातौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन पुस ८ गते हुने भएपनि महिला फुटबल शनिबारैदेखि सुरु भएको हो। यसअघि सातौं राष्ट्रियअन्तर्गत पौडी, शारीरिक सुगठन र ट्रायथलन गत वर्ष नै सम्पन्न भइसकेको छ। एथलेटिक्स अन्तर्गत म्याराथन पनि भइसकेको छ।