PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

प्रचण्ड-देउवालाई मोर्चाको प्रश्न : तपाइकै नेता एमालेसँग मिलेर आन्दोलन गरिरहेका छन्, चाला के हो ?



पहिलोपोस्ट

प्रचण्ड-देउवालाई मोर्चाको प्रश्न : तपाइकै नेता एमालेसँग मिलेर आन्दोलन गरिरहेका छन्, चाला के हो ?

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आन्दोलनका कारण संसदमा पुगेर अड्किएको संविधान संशोधन प्रस्ताव के हुन्छ ?
जिज्ञासा बोकेर शनिवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका मधेसी मोर्चाका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई उनीहरुकै दलका नेताको गतिविधीबारे प्रश्न राखे ।

बैठकमा मोर्चाका नेताले प्रधानमन्त्री प्रचण्ड र देउवालाई सोधे ‘तपाईकै दलका नेताहरु एमालेसँग मिलेर आन्दोलन गरिरहेका छन्, उनीहरुको मनोबल बढाइरहेका छन्, यो के चाला हो ?’

संविधान संशोधन प्रस्तावमा समेटिएको विषयमै अशन्तुष्टी जनाउंदै आएको मोर्चाका नेता पछिल्लो समय संसदमा दर्ता भएको संशोधन प्रस्ताव समेत पास नहुने हो की भन्ने आशंकामा थिए । 

त्यही आशंका मेट्न तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महन्थ ठाकुर, ह्दयश त्रिपाठी, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायतका मोर्चा नेता बालुवाटार पुगेका थिए । बालु्वाटारमा प्रधानमन्त्री प्रचण्ड,नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति देउवा र रामशरण महत सहभागी थिए । 

संविधान संशोधन प्रस्तावबाट कतै सत्तारुढनै पछाडि फर्कने त हैन भन्ने आशंका बोकेर गएका मोर्चा नेताले आफ्नै दलका नेताका गतिविधीबारे प्रश्न उठाएपछी प्रचण्डले केही नेता आन्दोलनमा सहभागी देखिए पनि उनीहरुले चुनावी स्टन्ट मात्रै गरेको भन्दै आश्वस्त बनाउने प्रयास गरेका थिए ।

देउवाले पनि यो विषयमा चिन्ता नलिन आग्रह गर्दै संशोधनको विपक्षमा केही नेता सक्रिय देखिए पनि केही दिनमै ठिक हुने आश्वासन दिएका थिए । 
माओवादी र कांग्रेसका नेताका गतिविधीपछी मोर्चाका नेता संशोधन प्रस्ताव र सत्तारुढको धारणामा प्रवेश गरेका थिए । उनीहरुले प्रधानमन्त्री र देउवालाई सत्ताधारी दल प्रस्ताव छाडेर निर्वाचनको तयारीमा लागेको देखिएको भन्दै यस विषयमा धारणा मागेका थिए । 

बैठकमा सहभागीस्रोतका अनुसार मोर्चाको सो आशंका चिर्दै दुबै नेताले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव संसदबाटै टुंगो लाग्ने र प्रस्ताव टुंगिएपछी मात्रै निर्वाचनमा जाने भन्दै मोर्चाका नेतालाई आश्वस्त गराउने प्रयास गरेका थिए । 

दुबै नेताले ‘ संशोधन प्रस्तावबाट सरकार पछाडि नहट्ने, प्रकृया अगाडि बढाउने र संशोधन पारित गराएपछी निर्वाचनको तयारीमा जुट्ने’ बताएका थिए । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद चल्न नदिई केन्द्रको निर्वाचनको माग गर्दै हिडेको, सरकारले स्थानीय निकायको निर्वाचनबारे विधेयक दर्ता गरेको र निर्वाचनकै वरिपरी भाषण गर्दै हिडेको भन्दै संसदमा दर्ता रहेको संविधान संशोधन प्रस्ताव स्थगित गर्ने तयारी गरेको हो भन्ने जिज्ञासा राखेका थिए । 

बैठकमा सहभागी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका अनुसार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले संसदमा दर्ता भइसकेको संविधान संशोधन प्रस्तावबाट सरकार पछाडि नफर्कने र संसदबाटै यसलाई टुंग्याउने बताउँदै यस विषयमा शंका नगर्न आग्रह गरेका थिए । 

‘दुबै जनाले संसदमा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता हुन्न, संसदबाटै यो टुंगिने भन्दै हामीलाई आश्वस्त बनाउनुभयो,’ महतोले पहिलोपोस्टसँग भने‘ आवश्यक परिमार्जन सहित संविधान संशोधनपछी सरकार निर्वाचनमा केन्द्रित हुने उहाँहरुको धारणा थियो । ’

दुबै नेताको धारणाबाट तपाईहरु आश्वस्त हुनुभयो त भन्ने जिज्ञासामा उनको प्रतिकृया थियो ‘ दुबै जनाको टोन हेर्दा पछाडि फर्कने मुडमा देखिनु भएन । जे हुन्छ संसदबाटै निर्णय हुन्छ भनेकाले अहिले हामी आश्वस्त छौं ।’

एमाले प्रतिगमनतिर

बैठकमा संविधान संशोधन प्रस्तावको विपक्षमा सक्रिय एमालेको गतिविधीबारे समेत समिक्षा भएको थियो । स्थानीय र संघिय निर्वाचन छाडेर सिधै केन्द्रको निर्वाचन गर्ने एमाले प्रस्ताव संघियता असफल गर्ने षड्यन्त्र अनुसार आएकोमा बैठकमा सहभागी दुबै पक्षले निष्कर्ष निकालेको बैठकमा सहभागीस्रोतले जानकारी दियो । 

मोर्च र सत्तारुढ दलका नेताले एमाले प्रतिगमनमा जान लागेको र संसदमा समेत संसदिय मर्यादा विपरित प्रस्तुत भइरहेको भन्दै उसलाई संयम्पूर्वक राजनीतिक गतिविधी गर्न आग्रह गर्ने सहमती समेत भएको थियो । 

‘प्रधानमन्त्री र देउवाको धारणा सुन्दा संविधान संशोधन प्रस्ताव अगाडि बढ्ने र अहिलेको डेडलक हट्ने देखिन्छ’ महतोले भने । 

बैठकपछी माओवादी केन्द्रकी नेतृ पम्फा भुषालले संविधान संशोधन प्रस्ताव प्रमुख प्रतिपक्षी दलको संसदमा जारी अवरोध र स्थानीय निकाय पूर्नसंरचनाबारे छलफल भएको जानकारी दिएकी थिइन् ।

विरोध छ असहमती छ भने संसदिय प्रकृयामा आएर सरकारले दर्ता गरेको प्रस्तावलाई प्रकृयाबाटै रोक्न सक्ने तर संसदलाई अनिर्णयको बन्दी बनाउन नहुने निष्कर्ष निकालिएको उनले जानकारी दिइन् ।

बैठकमा मोर्चाले अहिले दर्ता भएको संशोधन प्रस्तावले मात्र नहुने र संशोधन हुनुपर्ने धारणा राखेपछी संसद खुलेपछी संशोधन मार्फत माग सम्बोधन हुनसक्ने र स्थानीय निकाय संरचनाबारे समेत मोर्चाले असहमती राखेको जानकारी दिइन् । 
तस्विर :www.cmprachanda.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell