
काठमाडौं : थिएटर मलमा नयाँ नाटक ‘भोको घर’को मञ्चन सुरु भएको छ। नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’को सो नाटक केदार श्रेष्ठले परिकल्पना तथा निर्देशन गरेका हुन्।
एकै परिधिमा रुमलिइरहने वा रुमलिइरहन बाध्य हुने मध्यम वर्गीय सोच र आर्थिक संकटले पैदा गर्ने पारिवारिक समस्यालाई नाटकमा उतारिएको छ। मध्यम वर्गको आवश्यकता, सपना, महत्वकांक्षाका साथै समस्या र दुर्घटनाको अवस्थालाई नाटकले मूल विषय बनाएको छ।
गोठालेले तीसको दशकमा लेखेका नाटक ‘भोको घर’ अहिले पनि उत्तिकै सान्दर्भिक भएको निर्देशक श्रेष्ठ बताउँछन्। भन्छन्, ‘समयान्तरसँगै मानिसका सपनाका तह बढेपनि स्वरुप उही रहँदा यस नाटकमा हरेक समयको प्रतिनिधित्व हुन सक्छ।’
नाटकमा आकाश मगर, शान्ति गिरी, सुदाम सिके, सञ्जिता सञ्जी र अभय बरालको अभिनय रहेको छ।
पुस १ गतेबाट सुरु भएको नाटक पुस २३ गतेसम्म लाग्नेछ। बुधबारबाहेक हरेक साँझ नाटक ‘भोको घर’ मञ्चन हुनेछ। शनिबार दिउँसो १:३० बजे पनि अतिरिक्त शो राखिएको थिएटर मलले जनाएको छ।