PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

डा. केसीले अनशन तोडे पनि तोडिएन समस्या : १५ दिनदेखि डिन कार्यालयको काम ठप्प



सविन ढकाल

डा. केसीले अनशन तोडे पनि तोडिएन समस्या : १५ दिनदेखि डिन कार्यालयको काम ठप्प

काठमाडौं : सरकारसँगको सहमतिमा डा गोविन्द केसीले अनशन तोडे पनि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम डिन कार्यालयको अवस्था उस्तै देखियो।
 
डाक्टर केसीको २३ दिन लामो १० औं अनसन तोडाउन सरकारले आइओएमका डिन केपी सिंहलाई राजिनामा गराएर जगदीश अग्रवाललाई नियुक्त गरेको थियो। सिंहको राजीनामा पनि केसीले अनसन टुंग्याए। तर आइओएमको समस्या टुंगिएको छैन। सरोकारवाला निकाय मौन छ।

सिंहलाई हटाएर सरकारले  अग्रवाललाई नियुक्त गरेपछि केसीले जुस खाएर अनशन तोडे। उनले अनशन तोडे पनि त्यहाँ रहेका सिंह पक्षधर कर्मचारीले अग्रवाललाई कार्यालयमा प्रवेश गर्न नदिँदा त्यहाँका ७५ कर्मचारीले १५ दिनदेखि जाडो मौसममा घाम तापेर जागिर पकाइरहेका छन्।
 
आन्दोलनका कारण चिकित्साशास्त्रमा अध्ययनरत करिब २ हजार विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको छ। सरोकारवाला सरकारी निकाय मौन छन्।

आइतबार दिउँसो १२ डिनको कार्यालयमा पुग्दा गेटमा नै ताला झुन्डिएको थियो। कर्मचारी चौरमा घाम तापेर बसिरहेका थिए। एक कुनामा कर्मचारीको समूह बसेर गफ गर्दै समय बिताइरहेका थिए।
 
‘चार बजेसम्म घुम्यो, घाम ताप्यो, पत्रपत्रिका पढ्यो अनि चार कटेपछि घरतिर लाग्यो,’ नाम बताउन नचाहने एक कर्मचारीले भने ‘‘जरुरी चिठिपत्र दर्ता–चलानीको लागि फाइल बाहिर नै ल्याएर  काम गरिरहेको छौँ।’ अर्का कर्मचारीका अनुसार कर्मचारीका विदा र काजका काम भईरहेका छन्, अरु काम ठप्प छ।
 
अग्रवाललाई सरकारले नियुक्ति पत्र दिए पनि कर्मचारीको आन्दोलनका कारण उनी आफ्नो कार्यकक्षमा प्रवेश गरेर काम गर्न पाएका छैनन्। पठनपाठन ठप्प छ।

आइओएम बचाउ संघर्ष समितिको नाममा अहिले डिन कार्यालयमा आन्दोलन चलिरहेको छ। उनीहरुले बलमिच्याइ र आन्दोलनको भरमा डिन नियुक्त गर्ने प्रथा अन्त्य गर्नु पर्ने मागमा जोड दिएका छन्।
 
नियुक्ति पाए पनि कार्यालयमा जान नसकेपछि अग्रवालले केही दिन आफ्नो पुरानो कार्यकक्षबाट काम शुरु गर्न खोजेका थिए। मंसिर २२ मा आन्दोलनरत कर्मचारीले उनको त्यो कोठामा पनि ताला लगाइदिएपछि उनी पनि फुर्सदमा छन् अहिले।
 

कहिले खुल्छ डिन कार्यालय? 

कार्यालयको गेटमा ताल्चा छ। संर्घष समितिले चिकित्साशास्त्रको पठन–पाठन समेत हुन दिएका छैनन्। विधिसंगत रुपमा डिन नियुक्ति प्रकृयामा छलफलमा नडाकेसम्म आन्दोलन फिर्ता नहुने आन्दोलनरतपक्ष अडिग देखिए।


समितिका सदस्य डाक्टर सुरेन्द्र उप्रेतिले प्राध्यापक रमेशकान्त अधिकारीले बुझाएको प्रतिवेदनमाथि छलफल अगाडि बढाएर पारर्दशी रुपमा डिन नियुक्तिको बाटो नखोलेसम्म आन्दोलन नरोकिने बताए। उनले सरोकारवाला निकायले आफ्ना माग पुरा नगरे आउन लागेको परिक्षा समेत अवरोध गर्ने चेतावनी दिए।
 
उनले कुनै ब्यक्ति विरुद्ध आफूहरु आन्दोलित नभएको प्रष्टिकरण दिंदै भने‘ एकचोटिलाई होस् अव विधिबाट नै डिन नियुक्त हन्छ भने पनि हामीले आन्दोलनबारे पुनर्विचार गर्न सक्छौँ।’

यस विषयमा डिन जगदीश अग्रवालले पहिलोपोस्टलाई भने, 'आन्दोलनरत पक्षसँग वार्ता गरेर समाधान खोज्ने प्रयास भइरहेको छ।' उनका अनुसार चाँडै नै निकास निस्कने अपेक्षा छ। 

त्यस्तै कार्यालयमा ताल्चा लागिसकेपछि प्रभावित बनेको काम कार्यालय प्राङ्गण वा पायक परेको ठाउँबाटै गरिरहेको जानकारी पनि उनले दिए। 





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell