PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​कहाँ गयो मानवता? सम्पतिको लोभले लाश गनाइसक्दा पनि भएन अन्त्येष्टि



राधेश्याम पटेल

​कहाँ गयो मानवता? सम्पतिको लोभले लाश गनाइसक्दा पनि भएन अन्त्येष्टि

वीरगन्ज :  मरेपछि जोसुकै राजा होउन् केही मतलब हुन्न भन्ने नेपाली उखानै छ। तर जब मृत्युपछि लाश गनाइसक्दा पनि अन्त्येष्टि हुन्न, तब यो परिवारको मात्र हैन, सबैको चासो विषय बन्न बाध्य हुन्छ। 

पर्सामा यस्तै एउटा अनौठो घटना सार्वजनिक भएको छ। धोरे गाउँमा आज आइतबार साँझ एक वृद्धको दाहसंस्कार सम्पन्न भयो। मृत्युको तीन दिनपछि बल्ल आज अन्त्येष्टि सम्भव भएको हो। त्यो पनि प्रहरीको दबाबमा। 

किन त? 

कारण हो सम्पति विवाद। 

धोरे –७ बस्ने ६८ वर्षीय भक्कु सहनी मलाहको अस्ति शुक्रबार राति ७ बजे कालगतिले सुतिरहेको अवस्थामा आफ्नै घरमा निधन भयो। 
वृद्धका छोरा छैनन्, दुई छोरी मात्रै छन्। दुई छोरीबीच सम्पतिको विवाद चुलियो। त्यसैले बाउको लाश गनाउन थालिसक्दा पनि अन्त्येष्टि नभएको प्रहरी चौकी धोरेका प्रहरी सहायक निरीक्षक गंगा थापाले बताए। 

सम्पति उसले खाने, मैले किन दाहसंस्कार गर्ने? छोरीहरु यही विवादमा लागेपछि लाशको यस्तो दुर्गति भएको गाउँलेले बताए। 

गाउँका शिक्षक भगवानलाल सोनीका अनुसार तीन दिन बित्दा लाश सडेर गनाउन थालेको थियो, तर जग्गा र पैसाको लोभमा उनको परिवारजन लाशलाई दाह कर्म गर्न लगेनन्। 

मृतक वृद्धका जेठी उमा देवी र कान्छी सिन्धु देवी गरी दुई छोरी मात्रै छन्। छोरी मध्ये जेठी छोरीले बुवाको नाममा रहेको ४ धुर घडेरी र कान्छी छोरीले आमा जिलेबिया देवीको नामको १२ कट्ठा जमिन पहिले नै आफ्नो नाममा पास गरिसके थिए।

ती दुबै छोरीले अंशमा बराबरी नभएको भन्दै लाश तीन दिनसम्म घरमै छोपेर राखेका थिए।

जेठी छोरीले पाउनु पर्ने थप ६ कट्ठा खेत आफ्नो नाममा लेख्नु पर्ने शर्त अघि सार्दै आएकी थिइन्। नत्र लाश जलाउन दिन्न भनेर अड्डसी कसेकीले बुबाको लाशको दाह संस्कार नभएको थियो। उता,कान्छी छोरी भने दिदीलाई एक कट्ठा जग्गा पनि दिन राजी थिइनन्।

मधेसमा छोरा नभएको बाबु मर्दा उनको पटिदारको सदस्य (समुदायका व्यक्ति) मध्ये भाइभतिजाले दागबत्ती दिने चलन छ। पटिदारका सदस्यले पनि सम्पतिको लोभमा मृत्यु भएको वृद्धको दाहसंस्कारमा चासो दिएका थिएनन्।

प्रहरीले धन सम्पतिको विवाद पछि मिलाउने शर्तमा परिवारजनलाई दाह संस्कार गर्न लगाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell