सिन्धुली : खोटाङको हलेसीमा दर्शन गर्न हिडेका तिर्थालु चढेको स्कार्पियो जीप सिन्धुलीको रत्नावती गाविस– ३ घाटपाखाबाट सुनकोसी नदीमा खस्दा सातजनाको मृत्यु भएको छ ।
रत्नावती– ३ सोकु खोला मध्यपहाडी लोकमार्गस्थित काठमाडौबाट हलेसीतर्फ जाँदै गरेको बा १२ च ८८९७ नंको स्कार्पियो गाडी सडकबाट २ सय फिट तल सुनकोसी नदीमा खसेको हो।
सिन्धुपाल्चोकका स्थानीयले दुईवटा स्कार्पियो जिप लिएर खोटाङको हलेसीमा दर्शन गर्न जाने क्रममा उक्त जीप दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार स्कार्पियोमा चालकसहित नौजना सवार रहेका थिए ।
जीप कोसीको पानीमा डुबेकाले उद्धार गर्न समस्या भएको स्थानीय रामप्रसाद भण्डारीले जानकारी दिए। लोकमार्ग कालोपत्र नहुँदा तीव्रगतिमा रहेको स्कार्पियोले गति नियन्त्रण गर्न नसक्दा सुनकोसीमा खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा खाङसाङ प्रहरी चौकीलगायत अन्य नजिकका प्रहरीचौकीका प्रहरी स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरिएको थियो ।
दुर्घटनामा सिन्धुपाल्चोक फुल्पिङकट्टी–६ बस्ने ५० वर्षीय साङदोर्जे शेर्पा, फुल्पिङकट्टी–७ बस्ने ५७ वर्षीय बाले शेर्पा, सोही ठेगाना भएका ५० वर्षीया निवुती शेर्पा, ५० वर्षीया सर्किनी शेर्पा, लमजुङ सानीभञ्ज्याङ बस्ने अन्दाजी ४० वर्षीय जिप चालक झपटबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिए।
काठमाडौँ महानगरपालिका स्वयम्भू गोल्ढुङ्गा बस्ने ६० वर्षीया टुकुली शेर्पाको उपचारका क्रममा घुर्मीमा मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा परी अन्दाजी ४० वर्षीय एक पुरुषको भने सनाखत हुन सकेको छैन।
दुर्घटनाका घाइते सिन्धुपाल्चोक फुल्पिङकट्टी–६ बस्ने ५० वर्षीय दाल्मु शेर्पालाई घुर्मीको जनसेवा अस्पतालमा पठाइएको प्रहरी चौकी खाङसाङका प्रहरी नायब निरीक्षक टेकबहादुर लामाले जानकारी दिए।
सुनकोसीमा जिप खस्दा जिल्ला सिन्धुपाल्चोक फुल्पिङकट्टी–६ बस्ने ४५ वर्षीय दानुर्बु शेर्पा भने बेपत्ता भएका छन्।
प्रतिकात्मक तस्विर :www.icicilombard.com