
काठमाडौं : संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव जसरी पनि अगाडि बढाउने सत्तापक्षको तयारी र जसरी पनि रोक्ने प्रमुख प्रतिपक्षीको रणनीतिका बीच सहमति जुटाउन सभामुख ओनसरी घर्तीले आज तीन दलका नेतासँग छलफल गर्दैछिन्।
मंसिर १४ मा सरकारको तर्फबाट संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले त्यसको विरोधमा सडक र सदन दुवैतिर संघर्ष गरिरहेको छ।
शनिबार मधेसी मोर्चाका नेताहरुसँगको छलफलमा सत्ताधारी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्तावलाई जसरी पनि संसदमा लैजाने र त्यहीँबाट छिनोफानो गर्ने प्रतिबद्धता जनाएपछि एमालेले ‘सत्तापक्ष भिडन्तको तयारीमा रहेको’ विश्लेषण गरेको छ।
संसदमा प्रस्ताव दर्ता भए पनि कार्यसूचीमा पर्न सकेको छैन। विवाद समाधानका लागि सभामुखले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति देउवासँग छलफल गरे पनि त्यसले गाँठो फुकाउन नसकेपछि उनले ४ दिनका लागि सदन स्थगित गरेकी थिइन्।
प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग छलफल गरेर प्रस्तावलाई सदनमा लैजाने वातावरण बनाउने प्रयासस्वरुप आज बिहान ११ बजे सभामुखले तीनै नेतालाई छलफलका लागि सिंहदरबार बोलाएकी हुन्।