काठमाडौं : चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बचाउ सङ्घर्ष समितिले संस्थानका नवनियुक्त डिन डा. जगदीश अग्रवाललाई बर्खास्त गर्न माग गरेको छ।
शिक्षामन्त्री धनीराम पौडेललाई आज ज्ञापनपत्र बुझाउँदै अग्रवाललाई हटाएर प्रक्रियागत रुपमा नयाँ डिन नियुक्ति नगरिए अनशन बस्ने चेतावनी दिइएको हो। समितिका संयोजक डा सुरेश उप्रेतीसहितको टोलीले अग्रवाललाई बर्खास्त गर्न माग गर्दै आएको छ।
डाक्टर केसीको २३ दिन लामो १० औं अनसन तोडाउन सरकारले आइओएमका डिन केपी सिंहलाई राजीनामा गराएर अग्रवाललाई नियुक्त गरेको थियो। तर कर्मचारीको आन्दोलनका कारण उनी आफ्नो कार्यकक्षमा प्रवेश गरेर काम गर्न पाएका छैनन्। १६ दिनदेखि डिन कार्यालयमा तालाबन्दी छ। आन्दोलनका कारण चिकित्साशास्त्रमा अध्ययनरत करिब २ हजार विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको छ।
कसैकै बलमिच्याइँ र आन्दोलनको भरमा डिन नियुक्त गर्ने प्रथा अन्त्य गर्नुपर्ने आइओएम बचाउ संघर्ष समितिको अडान उस्तै छ। सिंह पक्षधर कर्मचारीले अग्रवाललाई कार्यालयमा प्रवेश गर्न नदिँदा त्यहाँका ७५ कर्मचारीले जाडो मौसममा घाम तापेर जागिर पकाइरहेका छन्।
नियुक्ति पाए पनि कार्यालयमा जान नसकेपछि अग्रवालले केही दिन आफ्नो पुरानो कार्यकक्षबाट काम सुरु गर्न खोजेका थिए। मंसिर २२ मा आन्दोलनरत कर्मचारीले उनको त्यो कोठामा पनि ताला लगाइदिएपछि उनी पनि फुर्सदमा छन्।
संघर्ष समितिका संयोजक डा उप्रेतीले प्राध्यापक रमेशकान्त अधिकारीले बुझाएको प्रतिवेदनमाथि छलफल अगाडि बढाएर पारर्दशी रुपमा डिन नियुक्तिको बाटो नखोलेसम्म आन्दोलन नरोकिने बताए। कुनै व्यक्तिविरुद्ध आफूहरु आन्दोलित नभएको प्रष्टीकरण दिँदै उनले भने, ‘एकचोटिलाई होस् अब विधिबाट नै डिन नियुक्त हुन्छ भने पनि हामीले आन्दोलनबारे पुनर्विचार गर्न सक्छौँ।’
शिक्षामन्त्री पौडेलले सङ्घर्षरत पक्षलाई वार्तामा बसेर समस्याको समाधान खोज्न आग्रह गरेका छन्। उनले पुस १४ गते बस्ने त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा यस विषयमा छलफल हुने जानकारी दिए।