PahiloPost

May 14, 2025 | १ जेठ २०८२

संशोधन प्रस्ताव फिर्ता लिन संयुक्त विद्यार्थी मोर्चाद्वारा प्रधानमन्त्रीलाई दबाब



पहिलोपोस्ट

काठमाडौँ : संयुक्त विद्यार्थी मोर्चाले संविधान संशोधनको प्रस्ताव राष्ट्रको हितमा नरहेको भन्दै त्यसलाई फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज ध्यानाकर्षण गराएको छ।
 
सिंहदरबारस्थित प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमार्फत प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षणपत्र बुझाइएको हो। देशभरबाट विद्यार्थीले प्रधानमन्त्रीलाई सो प्रस्ताव फिर्ता लिन लेखेका पत्रमध्ये केही पत्र समेत हस्तान्तरण गरिएको छ।
 
अनेरास्ववियुका अध्यक्ष नवीना लामाले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावप्रति प्रतिपक्ष दल तथा मधेसी मोर्चा असहमत रहेकाले त्यसलाई अविलम्ब फिर्ता गरी दलहरुको सहमतिबाट विकल्प खोज्नुपर्ने सुझाव दिइन्।
 
नेपाल मजदुर किसान पार्टी निकट विद्यार्थी सङ्गठनका अध्यक्ष नीरज लवजूले मुलुकमा अङ्गीकृत नागरिकलाई देशको नेतृत्व दिने तथा हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने विषय राष्ट्रियता विरोधी रहेकाले त्यसलाई अविलम्ब फिर्ता लिन माग गरे।
 
नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा नेपाल, नेमकिपा निकट विद्यार्थी सङ्गठन लगायतले संविधान संशोधन प्रस्तावको प्रक्रियामा असहमत भई विभिन्न चरणका आन्दोलन गर्दै आएका छन्।
 
पत्र बुझेपछि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार खनालले विद्यार्थीको माग प्रधानमन्त्रीलाई अवगत गराउने प्रतिबद्धता व्यक्त गरे।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell