काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाका मानार्थ अध्यक्ष टासी घलेले आफ्नै संघले गरेको गल्ती सुनाउनुपर्दा दुःख लागेको बताएका छन्। सोमबार राजधानीमा आइएमस ग्रुपले गरेको खेलाडी सम्मान कार्यक्रममा उनले एन्फाले क्लबको दर्ता नगरिदिँदा नेपालको थ्री स्टारले एएफसी कप प्लेअफ खेल्न नपाएकोले गल्ती गर्नेलाई कारबाही गर्नुपर्ने बताए।
'२० वर्षदेखि केही नजितिरहेको अवस्थामा नेपालले यस्तो भव्य उपलब्धि हात पारिरहँदा पनि एन्फा विवादमा आयो, गल्ती गर्नेलाई कारवाही पनि गर्नुपर्छ,' घलेले भने, 'हामीले अब झगडा गरेर होइन मिलेर फुटबल चलाउनुपर्छ।'
मनाङ मर्स्याङ्दी क्लबका संस्थापक अध्यक्ष समेत रहेका घलेले थ्री स्टारको हकमा निष्पक्ष छानबिनको माग पनि गरे।
एन्फाले एएफसीले पठाएको पत्रका बारेमा थ्री स्टार क्लबलाई जानकारी नगराउँदा थ्री स्टार एएफसी कप प्लेअफ मा छनोट भएर पनि खेल्न बाट बन्चित हुनुपरेको थियो। यस विषयमा एनफाले गैरजिम्मेवारपूर्ण व्यवहार गरेको भन्दै थ्री स्टारले क्षतिपूर्तिस्वरुप ६ करोड माग गरेको छ।
उनले एन्फामा क्लब मालिकहरुलाई समेत समेट्नुपर्नेमा पनि जोड दिए। 'अहिले एन्फाको कार्यसमितिमा १६ जना छन् तर त्यहाँ कुनै पनि ए डिभिजन क्लबको प्रतिनिध छैन,’ उनले भने, ‘अहिले नेपालले हात पारेको सफलतामा ए डिभिजन क्लबकै खेलाडीहरु रहेकाले क्लब ओनरहरुलाई पनि साथमा लिएर मात्र फुटबल चलाउनुपर्छ।'