PahiloPost

Dec 31, 2024 | १६ पुष २०८१

​बढ्यो सत्तापक्ष- प्रतिपक्ष दूरी, एक इन्च सर्दैनौँ : ओली



मनोज सत्याल

​बढ्यो सत्तापक्ष- प्रतिपक्ष दूरी, एक इन्च सर्दैनौँ : ओली

काठमाडौँ : संविधान संशोधनको विषयलाई लिएर दलहरुबीच दुरी थप बढेको छ। सत्तापक्षका नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच वार्ता र संवाद जारी रहे पनि दुवै पक्षले पछाडि नफर्कने अडान कायम राखेका छन्। 

प्रमुख तीन दलको सोमबार बिहानको बैठकपछि पनि संसदमा एमालेले अवरोध कायम राखेको छ। उता सरकारले भने संसदको कार्यसूचीमा निर्वाचन विधेयक र संविधान संशोधन विधेयक एकसाथ अगाडि बढाएको छ। 

तीन दल बैठक लगत्तै संसदीय दलको बैठकमा सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संशोधन फिर्ताको अडानबाट 'एक इन्च नसर्ने' बताएका छन्। उनले संसदमा निर्वाचन विधेयक र संविधान संशोधन विधेयक एकसाथ ल्याएर एमालेलाई उत्तेजित बनाउने प्रयास भैरहेको टिप्पणी गरेका छन्। 

एमाले सांसद रेवतीरमण भण्डारीका अनुसार ओलीले बैठकमा  सरकार निर्वाचन गराउने मुडमा पनि नभएको बरु एमालेलाई उत्तेजित बनाउन लागेको उल्लेख गर्दै एक इन्च पछि नहट्ने बताएका हुन्।

तीन दलको बैठकपछि एमाले नेता वामदेव गौतमले पनि निर्वाचनको पूच्छरको रुपमा संविधान संशोधन ल्याएपनि संसदमा अवरोध गर्ने बताए। 
संसदको सोमबार देखिको कार्यसूचीमा निर्वाचन विधेयक सँगै संविधान संशोधन विधेयक समेत राखिएको छ। सभामुख ओनसरी घर्तीले दलहरुबीच सहमतिका लागि समय दिने भन्दै गत मंसिर १४ गते दर्ता भएको विधेयक पाँच दिनमा 'परिपक्व' भइसक्दा समेत कार्यसूचीमा समेटेकी थिइनन्। 

उता तीन दल बैठकपछि नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार अब संविधान संशोधनको टुङ्गो संसदबाटै लाग्ने बताएका छन्। 'उहाँहरुले संशोधन फिर्ताको अडानमा यथावत् रहेको बताउनुभयो, हामीले पनि यो फिर्ता हुन सक्दैन पास फेल जे हुन्छ संसदबाट हुन्छ भन्यौँ', बैठकपछि महराले भने। 

के छन् दुई पक्षका रणनीति?

अवरुद्ध संसद बैठक सभामुख ओनसरी घर्तीले ७ गतेका लागि तय गरेकी छिन्। दलहरुले थप छलफलका लागि समय मागेकै कारण सभामुखले बैठक दुइ दिन पछाडि सारेकी हुन्। 

तर दलहरुले दुई दिनको समय एक अर्कालाई गलाउने रणनीति अनुसार उपयोग गर्दैछन्। प्रमुख प्रतिपक्षी एमाले संशोधन फिर्ताका लागि थप दबाब दिने निष्कर्षमा पुगेको छ। 

संसद बैठक अघि सोमबार एमालेसहितका प्रतिपक्षी दलको बैठकले आउँदो १७ गतेसम्मका लागि कार्यक्रम तय गरेका छन्। उनीहरुले प्रदेश नम्बर ५ को सीमाङ्कन हेरफेरको विरोधमा राजधानीको टुँडिखेलमा विरोध सभा राखेका छन्। यसले पनि एमालेले तत्काल सहमतिको बाटो समात्न खोजेको देखिँदैन। 

उता, सत्तापक्ष दलहरु एमालेलाई निर्वाचनमा अवरोधको रुपमा देखाउने प्रयासमा छन्। तीन दलको बैठकपछि एमाले उपाध्यक्ष वामदेव गौतमले सत्तारुढ दलहरुले – 'चुनावमा जानुहुन्छ कि जानुहुन्न', भनेर सोधेको बताए। 

निर्वाचनको विधेयकलाई संविधान संशोधन भन्दा माथिपट्टी कार्यसूचीमा राखेर अगाडि बढेको सरकार प्रतिपक्षीलाई निर्वाचनकै प्रश्नमा तिर सोझ्याउने तयारीमा छ। त्यस्तै सत्तापक्षले 'प्याकेज सहमति' को विकल्प समेत अगाडि सारेको छ जसमा एमालेको अग्रसरतामा आएको लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव र निर्वाचनसहितका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले प्रस्ताव गरेका हुन्। 

लोकमानसिंह कार्कीको महाभियोगका विषयमा कांग्रेसले अहिलेसम्म कुनै निर्णय लिएको छैन। त्यसो त संसद अवरोधका कारण लोमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव समेत संसदमा अड्किएको छ। 








 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell