बुटवल : युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा नेकपा एमाले निकट विद्यार्थीले रुपन्देहीमा विरोध प्रदर्शन गरेका छन्। तिवारीको हत्याको विरोधमा एमाले निकट विद्यार्थीले सोमबारदेखि नै सडकमा प्रदर्शन गरेर यातायात अवरुद्ध पारेका थिए।
युवा सङ्घ केन्द्रीय सचिवालय सदस्य देवराज पोखरेलले प्रहरी प्रशासनको लापरबाहीका कारण अपराधीले दिउँसै गोली प्रहार गरेको र अपराधीलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा नल्याउँदासम्म आन्दोलन जारी रहने बताए।
बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी चलेका छैनन् भने उद्योग, व्यापार, शिक्षण संस्थालगायत बिहानैदेखि बन्द छन्।
जिल्लाको देवदह नगरपालिका–६ खैरेनी निवासी ३६ वर्षीय तिवारीको सोमबार अपराह्न मोटरसाइकलमा देवदह चोकदेखि घरतर्फ जाँदै गरेको अवस्थामा देवदह–८ ढेकावरमा रातो रङको पल्सर मोटरसाइकलमा आएको समूहले छातीमा गोली प्रहार गरेको थियो । आक्रमणमा घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।
मनोजको तस्विर सार्वजनिक
प्रहरीले भने घटनामा संलग्नलाई पक्राउ गर्न यस क्षेत्रको सुरक्षा अवस्थामा कडाइ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आक्रमणकारी मनोज पुनको खोजीका लागि उनको फोटो सार्वजनिक गरेको छ।प्रहरीले निज पुन यसभन्दा अगाडि सङ्गठित अपराध, हातहतियार खरखजना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेको र सोमबार देवदहमा तिवारीलाई गोली प्रहार गर्ने घटनामा प्रत्यक्ष समेत संलग्न रहेको बुझिएको भन्दै उनलाई पक्राउ गर्न फोटो सार्वजनिक गरेको जनाएको छ।