चौतारा : भूकम्पपछि सुक्खा पहिरो गएर तहसनहस भएको सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर सडकखण्डमा यातायात चल्न थालेका छन्। अवरुद्ध भएको सडक सञ्चालनमा आए पनि भुकम्प लगत्तै बन्द रहेको नाका भने खुलेको छैन।
नाका २१ महिनादेखि बन्द छ। प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालका अनुसार चिनियाँ पक्षले भौगर्भिक अध्ययन टोली खटाएको र टोलीले मानव बस्ती बसाउन सकिने भनी प्रतिवेदन दिएपछि मात्र नाका खुलाउन सकिने बताएको छ।
चिनिया पक्ष पनि जति सक्दो चाँडो नाका खुलाउन इच्छुक रहेको र अब बस्ने सीमा सुरक्षा बैठकमा त्यसबारेमा थप कुरा राखिने सिलवालले बताए।
भूकम्पले क्षतविक्षत पारेर लामो समयसम्म अवरुद्ध बाह्रबिसेदेखि तातोपानीको सीमा पुलसम्मको २६ किलोमिटर सडकको ट्रयाक खोलिएको थियो । तर गएको असार २१ गते भोटेकोसी नदीमा आएको भिषण बाढीले त्यहाँको मानव बस्ती र सडकको विभिन्न भाग कटान गर्नुका साथै ठाउँ ठाउँमा गएका ठूला पहिरोले आवागमन बन्द भएको थियो । बन्द सडकलाई पुनःनिर्माण गरी लिपिङसम्म यातायात सञ्चालन भएको छ ।
कोठेलगायतका विभिन्न स्थानमा गएको पहिरोको काम दोलखास्थित सडक डिभिजन कार्यालयले मर्मत सम्भार गरिरहेको छ । जुरेको पहिरोदेखि बाह्रबिसे माथि पर्ने घट्टेखोला, र्यालेभिर, लिपिङलगायतका पाँच ठूला पहिरोसहित २६ किलोमिटर सडकखण्ड पुनःनिर्माणको काम चिनियाँ रेलबे कम्पनीले पूरा गरेको इन्जिनियर सञ्जय पन्थीले जानकारी दिए।
अरनिको राजमार्गको ९२ किलोमा पर्ने जम्बोदेखि लिपिङसम्मको सडकलाई पक्की रुपमा निर्माण गर्न चिनियाँ कम्पनीलाई प्रस्ताव गरे पनि निर्णय भइसकेको छैन।