
काठमाडौँ : नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका रुपन्देही जिल्लाका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको दाबी गर्दै रुपन्देही प्रहरी मनोज पुनको खोजीमा जुटेको छ।
तिवारीको हत्या पुनले नै गरेको दाबी गरे पनि उनी कहाँ छन् भन्नेमा प्रहरी नै अन्यौलमा देखियो। प्रहरीले उनी भारतमा रहेको दाबी गरे पनि निश्चित भने देखिएन।
पुनबारे कतैबाट सूचना आइहाल्छ कि भन्ने आशमा रुपन्देही प्रहरीले मंगलबार उनको तस्बिर सार्वजनिक गरेको छ।
गत फागुनमा तिवारीमाथि भएको गोली प्रहारको घटनामा पुन समूह संलग्न रहेको, पुनले तिवारीलाई पटक पटक मार्ने धम्की दिएको र फोन गरेर आफूले हत्या गरेको जिम्मेवारी लिएकाले अनुसन्धान त्यही कोणबाट अगाडि बढाएको रुपन्देही जिल्ला प्रहरी कार्यलयका डिएसपी बेलबहादुर पाण्डेले बताए।
तिवारीले ल्याएका थिए एमालेमा
पुन तत्कालीन माओवादीमा आबद्ध रहेर स्थानीय राजनीतिमा संलग्न थिए। उनलाई तिवारीलेनै माओवादीबाट एमालेको युथ फोर्समा आबद्ध गराएका थिए।जानकार स्रोतका अनुसार एमालेमा छिरेपछि पुन चन्दा असुल्न सक्रिय भएपछि तिवारीसँग विवाद सुरु भएको थियो। जबर्जस्ती चन्दा उठाएको भन्दै पुनलाई कारबाही गर्दै पार्टीले निष्काशन गरेपछि उनी तिवारीसँग रिसाएका थिए।
गत फागुनमा तिवारीमाथि भएको गोली प्रहारको घटना बदला लिन पुनले नै गरेको प्रहरीको दाबी छ। फागुनको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरे पनि उनी फरार नै थिए। उनी भारतमा लुकेर बसेको र उतैबाट आपराधिक समूह पठाएर तिवारीको हत्या गराएको प्रहरीको प्रारम्भिक निष्कर्ष देखिन्छ।