PahiloPost

Mar 21, 2025 | ७ चैत्र २०८१

आयल निगमले किन बढायो तेलको मूल्य? यस्तो रहेछ कारण



पहिलोपोस्ट

आयल निगमले किन बढायो तेलको मूल्य? यस्तो रहेछ कारण

काठमाडौं : नेपाल आयल निगमले भारतभन्दा नेपालमा पेट्रोल र डिजेल लिटरमै १८ रुपैयाँ ७५ पैसा र डिजेलमा २५ रुपैयाँ २ पैसा सस्तो रहेको दाबी गरेको छ।
 
निगमले आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा साढे चार रुपैयाँ मूल्य बढाउँदा भारतभन्दा सस्तो भएको तर्क अघि सारेको थियो। निगमको तर्क थियो- नेपालमा तेल सस्तो हुँदा भारततर्फ अपचलन भयो। त्यसैले मूल्य बढाउनुको विकल्प भएन। भारतका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको मूल्य फरक छन्।
 
राज्यअनुसार मूल्य फरक हुने भएकोले पेट्रोलियम पदार्थको मूल्यमा एकरुपता छैन। दिल्लीमा पेट्रोल र डिजेलको मूल्य क्रमश: १ सय २० रुपैयाँ ३० पैसा र ९० रुपैयाँ ६८ पैसा छ। नेपालमा मूल्य बढाएपछि पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ ५० पैसा र ७७ रुपैयाँ ५० पैसा छ।
 
यो आधारमा दिल्लीभन्दा नेपालमा पेट्रोल र डिजेलमा १३ रुपैयाँ १८ पैसा र ८ रुपैयाँ ८ पैसा सस्तो छ। भारतभन्दा नेपालमा तेल सस्तो हुँदा अपचलनको समस्या हुन्छ। पछिल्लो समयमा नेपालमा तेल ल्याएर फेरि भारत लैजाने क्रम बढेको निगमले समेत जनाएको छ।
 
निगमका अनुसार सीमा क्षेत्रमा नेपालबाट तेल गएकोले अस्वाभाविक माग देखिएको छ। लोडसेडिङ घट्दा समेत डिजलको माग अस्वाभाविक रुपमा बढेको भन्दै निगमले सीमा क्षेत्रमा अध्ययन गर्न थालेको छ।
 
सीमा क्षेत्रबाट आउने बासिन्दाले ग्यालेनमा डिजेल लिएर जाने गरेका छन्। ‘ट्यांकरमै डिजेल पठाएर कसैले अनधिकृत कारोबार गरेको छैन,’ निगम स्रोतले भन्यो, ‘तर सीमा क्षेत्रबाट ग्यालेनमा बोकेर डिजेल लैजाने क्रम जारी छ। यस्ता कारोबारीहरू मोटरसाइकलमा तेल बाँधेर लैजाने गर्छन्।’
 
अहिले पनि नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य बढी छ। जोगबनीमा पेट्रोल प्रतिलिटर १९ र डिजल १८ रुपैयाँ नेपालमा भन्दा महँगो छ।
 
‘तर पेट्रोलको अनधिकृत कारोबार भएको छैन,’ ती व्यवसायीले जानकारी दिए, ‘विशेष गरी पम्पसेट चलाउने कृषक, ट्रयाक्टर धनी र फुटकर व्यापारीले मोटर साइकलमा बाँधेर ग्यालेनमा तेल लैजाने गरेका छन्।’
 
सीमा क्षेत्रमा तेलको कारोबार नहोस् भनेर कडाइ अपनाइएको मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले दाबी गरे। भण्डारीले भने, ‘ग्यालेनमा लानेलाई पनि हामी पक्राउ गर्छौं।’
 
रक्सौलमा भने स्थानीय आएर पेट्रोलियम पदार्थ लिएर जाने गरेका छन्। वीरगन्जमा भन्दा रक्सौलमा पेट्रोल ८ रुपैयाँ ९ पैसा र डिजेल १२ रुपैयाँ महँगो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell