PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

स्वास्थ्यमन्त्रीले मागे क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण



पहिलोपोस्ट

चितवन : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अस्तव्यस्त बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले सञ्चालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग गरेको छ।
 
मन्त्रालयको टोलीले अस्पतालको अनुगमन गरेर प्रतिवेदन पेस गरेपछि स्वास्थ्य मन्त्री गगन थापाले सञ्चालक समिति अध्यक्ष डा. प्रकाशराज न्यौपाने र कार्यकारी निर्देशक डा. चीनबहादुर पुनलाई तीन दिनभित्र लिखित जवाफ दिन स्पष्टीकरण माग गरेका हुन्।
 
मन्त्रालयका चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेका अनुसार आर्थिक अनियमितता गरेको, प्रशासन चुस्तदुरुस्त नभएको, विकिरणयुक्त फोहर व्यवस्थापन नगरिएको, कार्यालय समयभित्र चिकित्सक र कर्मचारीले बाहिर काम गरेको जस्ता कुरा स्पष्टीकरणमा सोधिएको छ। अस्पतालको रु ३० करोडभन्दा बढी बेरुजुसमेत देखाइएको छ।
 
यसअघि मङ्सिर २८ गतेको सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयको अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा चार सदस्यीय छानबिन टोलीले सो अस्पतालमा अनुगमन गरी मन्त्री समक्ष प्रतिवेदन बुझाएको थियो।
 
अस्पताल सञ्चालक समितिको बैठक गत चैत २४ गतेयता बसेको छैन। अस्पतालको ऐनमा अध्यक्ष र छ जना सदस्य नेपाल सरकारले नियुक्ति गर्ने प्रावधान छ।
 
स्पष्टीकरणको जवाफ भोलिसम्ममा बुझाउने अध्यक्ष अध्यक्ष डा. प्रकाशराज न्यौपानेले बताए। कार्यकारी निर्देशक पुन पनि जवाफ बुझाउन काठमाडौँ गएका छन्।
 
सञ्चालक समितिको बैठक नबस्दा अस्पतालको बजेट अनुमोदन नभएपनि आर्थिक नियमावली मिचेर पाँच महिनामा रु १४ करोड खर्च भइसकेको लेखा शाखाले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell