PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

स्वर्गीय पत्रकारद्वय न्यौपाने र बोहराका परिवारलाई राष्ट्रपतिले दिइन् राष्ट्रिय पत्रकारिता पुरस्कार



पहिलोपोस्ट

स्वर्गीय पत्रकारद्वय न्यौपाने र बोहराका परिवारलाई राष्ट्रपतिले दिइन् राष्ट्रिय पत्रकारिता पुरस्कार

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच लाख राशीको प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार हस्तान्तरण गरेकी छिन्।
 
मरणोपरान्त पुरस्कृत पत्रकारद्वय स्व. सञ्जय न्यौपाने र स्व. कर्ण बोहराका पत्नी क्रमशः राधिका अर्याल न्यौपाने र ममता बोहरालाई उक्त पुरस्कार संयुक्तरुपमा हस्तान्तरण गरिएको हो।
 
प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिको मंसिर १४ गतेको निर्णयबमोजिम पत्रकारितामा महत्वपूर्ण योगदान गरेका पत्रकार न्यौपानेको गत कात्तिक २० र बोहराको मंसिर १० गते निधन भएको थियो।
 
राष्ट्रपति भण्डारीले आफ्नो व्यावसायिक निष्ठा, प्रतिबद्धता, कर्तव्यप्रतिको सजगताको सम्मान गर्दै दिवंगत पत्रकारहरुलाई पुरस्कृत गरेकोमा प्रेस काउन्सिल तथा सानिमा बैंकप्रति धन्यवाद प्रकट गरिन्। नेपाली मिडियाले विकृति, विसंगति र सामाजिक जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोको भन्दै उनले प्रशंसा पनि गरिन्।
 
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रजातन्त्रको पुनःस्थापनाका लागि पत्रकारहरुको योगदान महत्वपूर्ण रहेको र त्यसमा पनि कठोर जीवन बिताउँदै पत्रकारितामा जीवन्त लागेका न्यौपाने र बोहरालाई युवावस्थामै गुमाउनुपरेकोमा दुःख प्रकट गरे।
 
प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले यसै वर्ष दुई होनाहार पत्रकार गुमाउनुपर्दा पत्रकारिता क्षेत्रमा हुन गएको अपुरणीय क्षतिप्रति प्रेस काउन्सिल नेपाल मर्माहत भएको बताउदै उनीहरुको उच्च सम्मानस्वरुप मरणोपरान्त पुरस्कार प्रदान गरिएको प्रस्ट पारे।
 
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले मिलनसार, कर्तव्यनिष्ट पत्रकार गुमाउनुपर्दा प्रेस जगत्ले अपूरणीय क्षति बेहोरेको भनाइ राखे।
 
कान्तिपुर राष्ट्रिय दैनिकमा लामो समयसम्म रिपोर्टिङ्ग, उपसम्पादक हुँदै प्रमुख संवाददाता र आर्थिक ब्युरो प्रमुखको रुपमा कार्यरत स्वर्गीय न्यौपाने पछि कारोबार दैनिकमा सम्पादक बनेका थिए। यस्तै अर्का पत्रकार बोहरा स्पेसटाइम दैनिक, च्यानल नेपाल टेलिभिजन, रहस्य साप्ताहिक लगायतका सञ्चारमाध्यममा आबद्ध थिए। पछिल्लो समय उनी न्यूज–२४ टिभीको सुदुर–पश्चिम ब्यूरो प्रमुख थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell