
रविन्द्र जडेजाले टेष्ट करियरको उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेट लिएपछि भारतले पाँचौ टेष्टमा इंगल्याण्डलाई इनिङ र ७५ रनले पराजित गर्दै ५ खेलको सिरिज ४-० ले जितेको छ।
करुण नायरले तेहेरो शतक बनाएपछि भारतले पहिलो इनिङमा ७५९ रन बनाएको थियो। पहिलो इनिङमा ४७७ रन बनाएको इंगलयाण्डको लागि इनिङ अन्तरको हार टार्न दोस्रो इनिङमा २८२ रन आवश्यक थियो। तर पाँचौ तथा अन्तिम दिन रविन्द्र जडेजाले शानदार बलिङ गरेपनि इंगल्याण्ड २०७ रनमै अलआउट भयो।
इंगल्याण्डले बिना क्षती १२ रनको अवस्थाबाट पाँचौं दिनको खेल सुरुवात गरेको थियो। एक समय १९२ रन बनाउँदा ४ विकेट मात्र गुमाएको इंग्ल्याण्डले जम्मा १५ रन थप्दा बाँकी ६ विकेट गुमायो। इंगल्याण्डका लागि केएटन जेनिङ्सले सर्बाधिक ५४ रन बनाए। यस्तै कप्तान एलेस्टर कुक ४९, मोइन अली ४४ तथा बेन स्ट्रोकले २३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।
इंगलयाण्डलाई अलआउट गर्न भारतका जडेजाले २५ ओभर बलिङ गर्दै ५ मेडन राख्दै ४८ रन खर्चेर ७ विकेट लिए। इशान्त शर्मा, उमेश यादव र अमित मिश्राले समान १ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंगल्याण्डले मोइन अलीको शतक मद्वतमा पहिलो इनिङमा ४७७ रन बनाएको थियो। त्यसको जवाफमा भारतले ७५९ रन बनायो। भारतका ओपनर लोकेश राहुल दोहोरो शतकबाट एक रन मात्र चुके पनि करुण नायरले नटआउट रहँदै ३०३ रन बनाए।
करियरको तेस्रो टेष्टमै तेहेरो शतक प्रहार गरेका करुण नायर 'म्यान अफ दि म्याच' घोषित भए। भारतीय कप्तान विराट कोहली 'म्यान अफ दि सिरिज' चुनिए।
भारत र इंगल्याण्डबीचको पहिलो टेष्ट बराबरीमा सकिएको थियो। भारतले दोस्रो टेष्ट २४६ रन, तेस्रो टेष्ट ८ विकेट तथा चौथो टेष्ट इनिङ र ३६ रनले जितेको थियो।