PahiloPost

Dec 31, 2024 | १६ पुष २०८१

किन आसन ग्रहण गर्दैनन् सुवास नेम्वाङ?



मनोज सत्याल

किन आसन ग्रहण गर्दैनन् सुवास नेम्वाङ?

'माननीय सदस्यहरु, म सबैलाई आसनग्रहण गर्न आग्रह गर्दछु। माननीय सदस्यहरु आसन ग्रहण गर्नुहोस्।'
 
पहिलो र दोस्रो संविधानसभामा अध्यक्ष र व्यवस्थापिका संसदमा सभामुखको भूमिका निर्वाह गरेका सुवासचन्द्र नेम्वाङले कैयौँ पटक सांसदहरुलाई नाराबाजी नगर्न र प्रक्रियामा अवरोध नगर्न आग्रह गरे। जबजब सांसदहरु उठेर नारा लगाउँथे, बेल घेराउ गर्थे, सभामुख नेम्वाङ पहिला भन्थे, 'माननीय सदस्यहरु, आसन ग्रहण गर्नुहोस्।'
 
२०७१ माघमा संविधान निर्माणलाई सहमतिको नभई जब प्रक्रियाको बाटो हिँडाउने प्रयास भयो, नेम्वाङले भने, ‘अवरोधका कारण कार्यसूचीमा रहेको संविधान निर्माणको प्रक्रिया पनि अवरुद्ध रहेको छ। त्यसकारण माननीय सदस्यहरुलाई म यो अवरोध हटाउन आग्रह गर्दछु।'
 
तर यति बेला नेम्वाङ आसन ग्रहण गर्न आग्रह गर्ने भूमिकामा छैनन्। बरु आसन ग्रहण गर्न गरिएको सभामुखको आग्रह अटेर गर्ने गरेका छन्। नेकपा एमाले संसदीय दलको उपनेता रहेका उनी संसदमा पेश भएको संविधान संशोधनको विरोधमा आफ्नो स्थानमा खडा हुँदै आएका छन्। भलै अहिलेसम्म उनले नाराबाजी भने गरेका छैनन्।
 
नेम्वाङलाई आसन ग्रहण गर्न आग्रह गर्ने काम अहिले नेकपा माओवादी केन्द्रको तर्फबाट सभामुख बनेकी ओनसरी घर्तीले गर्दैछिन्।
 
अहिले नेम्वाङ जस्तै घर्ती सभामुखको चेयरबाट भन्छिन्, 'माननीय सदस्यहरु, प्रक्रियालाई सहयोग गरौँ। आसन ग्रहण गरौँ माननीय सदस्यहरु।'
 
के पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई तल उभिएर सभामुख घर्तीको आग्रह अटेर गर्न अप्ठेरो लाग्दैन? पहिलोपोस्टको जिज्ञासामा मुस्कुराउँदै नेम्वाङ भन्छन्, ‘यस्तै हो, परिवर्तित भूमिका खेल्नुपर्छ।’
 
कानुनी पृष्ठभूमि भएका नेम्वाङ आफूले पद र जिम्मेवारीको आधारमा भूमिका निर्वाह गर्ने गरेको दाबी गर्छन्।
 
'मलाई सभामुख हुँदा एमालेकै सांसदहरुले गुनासो गरे। तपाईं विपक्षीसित मिल्नुभयो सम्म भने,’ नेम्वाङ भन्छन्, 'मैले संसदमा लेखा समितिको सभापतिको भूमिकामा रहँदा समानान्तर सरकार चलाएको आरोप लाग्यो।'
 
नेम्वाङ अहिले विपक्षी दलको सांसदको भूमिकामा रहेकाले त्यसै अनुसार उभिएको तर्क गर्छन्। आफ्नो वकिलको पृष्ठभूमि सम्झँदै नेम्वाङ भन्छन्, 'प्रत्येक भूमिकाका लागि वकिलहरु तयार हुनुपर्छ।'
 
दोस्रो संविधानसभामा अध्यक्ष बन्दै गर्दा तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेम्वाङलाई शिक्षकको भूमिकामा रहेको बताए। उनले 'उपल्लो कुर्सीमा बसेर शिक्षकको भूमिका निर्वाह गरेको’ बताए।
 
तर यति बेला नेम्वाङ ‘विद्यार्थी’को भूमिकामा छन्, त्यो पनि अटेरी विद्यार्थीको रुपमा। अनि आजकाल नेम्वाङ आसन ग्रहणका लागि गरिएको आग्रह लत्याउँछन्।
 
के नेम्वाङलाई संसदको अवरोध जायज लाग्छ?
उनी जायज र नाजायजको स्थितिमा टिप्पणी गर्नुभन्दा पनि कूटनीतिक जवाफ दिएरै टारिदिन्छन्, 'संसद अवरोध गर्ने स्थिति आउनु ठिक होइन।'
 
सरकारले गत मंसिर १४ गते संविधान संशोधन प्रस्ताव दर्ता गरेयता एमालेले संसद अवरोध गर्दै आएको छ। अझ एमालेले संविधान संशोधन असफल पार्न आवश्यक एक तिहाईभन्दा बढी सांसदको संख्या समेत आफ्नो पक्षमा रहेको दाबी गर्दै आएको छ। यस्तो दाबी गर्ने एमाले संसद बैठकलाई किन प्रक्रियामा जानै रोक्दै छ त?
 
एमाले संसदीय दलको उपनेताको हैसियतमा रहेका नेम्वाङ भन्छन्, 'हामीले संविधान संशोधन असफल पार्न संख्या नपुगेकाले अवरोध गरेको होइन। संविधान संशोधन विधेयकले राष्ट्रिय अस्मितामा प्रश्न उठाएको छ। मुलुकको सार्वभौमसत्तामा प्रश्न उठेको छ। यो विषय भोटिङको विषय बन्नुहुन्न। त्यसैले विरोध गरेको हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell