काठमाडौं : सुदूरपश्चिमको सामाजिक प्रथा छाउपडीमाथि लेखिएको राज सरगमको उपन्यास ‘छाउघर’ आज सार्वजनिक गरिएको छ।
लेखक अमर न्यौपाने, कलाकार तथा अभिनेता हरिवंश आचार्य र पूर्व मिस नेपाल माल्भिका सुब्बाले उपन्यासको संयुक्त रुपमा लोकार्पण गरे।
प्रत्येक अक्षरलाई छुँदैछुँदै पढेको भन्दै आख्यानकार न्यौपानेले उपन्यासमा प्रयुक्त आञ्चलिक भाषाले आफूलाई निकै छोएको भनाइ राखे। बालिकाको संवेदनशील कथामा एक पुरुष लेखकले मिहिन रुपमा लेखेको भन्दै उनले लेखकको प्रशंसा गरे। ‘पाठकलाई विद्रोही बनाउन पनि जरुरी छैन। लेखकले करुणा सिर्जना गरिदिने हो। करुणाले मानवता सिर्जना गर्दछ। मानवताले समभाव साख्दछ,’ उनले भने, ‘यो सवालमा किताब महत्वपूर्ण छ।’
अभिनेता आचार्यले सुदूरपश्चिममा महिलालाई बढी यातना दिने गरिएको भन्दै छाउघरलाई 'मान्छे मार्न बनाइएको ठाउँ'को रुपमा व्याख्या गरे। ‘त्यहाँमा पुरुषलाई म भन्छु, महिलालाई घरमा राखेर तपाईंहरु छाउघरमा बसेर अनुभव गर्नुस् कस्तो हुन्छ त्यहाँको पीडा,’ उनले भने।
जंगली स्वभाव भएका पुरुषहरुकै कारण छाउघरमा महिला-किशोरीहरुको मृत्यु हुने गरेको भन्दै उनले थपे, ‘छाउगोठ बनाउनु कानुनविपरीत हो भनेर अब सरकारले नै कानुन बनाउनुपर्छ।’
यस्तै माल्भिका सुब्बाले पनि छाउघरकै कारण किशोरीहरुले अकालमा ज्यान गुमाउनुपरेको भन्दै त्यस्ता प्रथा हटाउनुपर्नेमा जोड दिइन्।
सुदूरपश्चिममै जन्मिएका लेखक सरगमले त्यहाँको समाज र छाउघरको पुरातन प्रथाबारे चासो लागेरै उपन्यास लेख्ने सोच पलाएको बताए।
पुस्तकलाई फाइनप्रिन्टले बजारमा ल्याएको हो।