PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

आठ अस्पतालले अनुमतीनै नलिई ल्याए विकिरण उत्पादन गर्ने उपकरण : स्वास्थ्यले गर्यो सिलबन्दी



रासस

आठ अस्पतालले अनुमतीनै नलिई ल्याए विकिरण उत्पादन गर्ने उपकरण : स्वास्थ्यले गर्यो सिलबन्दी

काठमाडौं : आठ वटा अस्पतालले अनुमति नलिइ मानव स्वास्थ्य तथा वातावरणमा असर गर्ने रेडियोधर्मी विकिरण उत्पादन गर्ने पुराना मेडिकल उपकरण ल्याएको खुलेपछी स्वास्थ्य मन्त्रालयले उपकरण सिलबन्दी गरेको छ ।

अनुगमनमा रेडियोधर्मी विकिरण उत्पादन गर्ने पुराना मेडिकल उपकरण अनुमति नलिई अस्पतालले आयात गरेको खुलेपछि उपकरण सिलबन्दी गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछी अनुगमनका लागि स्वास्थ्य मन्त्रालयले वरिष्ठ जनस्वास्थ्य प्रशासक भानु येङगदेनको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिले मौलाकालिका अस्पतालमा सञ्चालित नारायणी इर्मजिङ एण्ड डाइनोष्टिक सेन्टर, ग्लोवल हस्पिटल एण्ड एजुकेसन फाउन्डेसन ग्वार्को ललितपुर, विराटनगर अस्पताल, मोरङ लाइफ गार्ड अस्पताल विराटनगर, कन्काई अस्पताल विर्तामोड झापा, लुम्बिनी मेडिकल कलेज बुटवल, गण्डकी इर्मेजिङ सेन्टर पोखरा र नेपालगन्ज मेडिकल कलेज बाँकेले सिटी स्क्यान, एमआरआइ मेसिन, एक्सरे, अल्ट्रासाउन्डलगायत मेसिन अनुमति नलिइ खरिद गरेको पाएपछि सम्बन्धित जिल्लाका जनस्वास्थ्य कार्यालयमा पत्र पठाई सामग्री जफत गरेर सिल गर्न आदेश दिएको छ ।

समितिले स्वास्थ्यमन्त्री गगनकुमार थापालाई प्रतिवेदन बुझाई स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० को दफा २३ क (८) र ख (७) बमोजिम सिल गर्नुपर्ने जानकारी गराएको थियो ।

स्वास्थ्य संस्था तथा अस्पतालले सामग्री खरिद गर्दा मन्त्रालयमा वा सम्बन्धित जनस्वास्थ्य कार्यालयमा खरिद तथा सञ्चालन अनुमति लिनुपर्ने प्रावधान छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell