
काठमाडौं : बंगलादेशमा बुधबारबाट सुरु हुने एभिसी सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालसहित ५ राष्ट्रको सहभागिता रहने भएको छ।
जसमा आयोजक बंगलादेश, नेपाल, अफगानिस्तान, माल्दिभ्स र किर्गिस्थान छन्। नयाँ प्रशिक्षक जगदिश भट्टको कमाण्डमा रहेको नेपाली राष्ट्रिय भलिबल टोली च्याम्पियनसिपमा सहभागि हुन मंगलबारै बंगलादेश पुगिसकेका छन्।
इम रानाको कप्तानीमा रहको नेपाली टोलीमा यस पटक ३ नयाँ अनुहार छन्। नरेन्द्र गिरी, भुवन कार्की र इश्वर थापा मगरले यसै च्याम्पियनसिपमाफर्त अन्तर्राष्ट्रिय भलिबलमा डेब्यु गर्दैछन्। नरेन्द्र अलराउण्डर हुन् भने इश्वर लिब्रो तथा भुबन मिडल ब्लकर हुन्।
गत वर्ष च्याम्पियनसिप खेलेका नेपाल उपकप्तान तथा नम्वर वन नेपाली स्पाइकर सन्जय अर्याल यो पटक टोलीमा छैनन्। यस्तै सन्जुविक्रम शाह अलराउण्डर र उमाकान्त केसी लिब्रो पनि यस पटक टोलीमा छैनन्।
बंगलादेशमा च्याम्पियनसिप खेल्ने अन्य खेलाडीहरुमा हरिहजुर थापा, मान बहादुर श्रेष्ठ, धनबहादुर भट्ट, विजय थापा, कुलबहादुर थापा, महेन्द्र श्रेष्ठ, भैरवबहादुर बम, देव शर्मा छन्।
गत वर्ष ७ टोली सहभागि सेन्ट्रल जोन च्याम्पियनसिपमा नेपाल सेमिफाइनल प्रवेश गर्न सफल भएको थियो। त्यतिबेला चौथो भएको नेपालले तुर्कमिनेस्तानसँग सेमिफाइनल खेलेको थियो र पराजित भएको थियो। तेस्रो स्थानको खेलमा पनि अफगानिस्तानसँग पराजित भएको थियो।
तर भूकम्पका कारण कमजोर तयारीका बीच पनि नेपालले किर्गिस्थान र बंगलादेशलाई पराजित गरेको थियो भने माल्दिभ्ससँग हार बेहोरेको थियो। त्यतिबेला नेपालको प्रशिक्षक कपिल किशोर श्रेष्ठले सम्हालेका थिए।
यस पटक ५ टोलीको मात्र सहभागिता रहेकोले नेपालको लक्ष्य भनेको गत वर्षको प्रदर्शनमा सुधार गर्नु नै हुनेछ। तर कमजोर घरेलु संरचना, कम तयारी। म्याच एक्सपोजरको कमी लगायत समस्याका कारण नेपाललाई आफ्नो साख जोगाउने चुनौती छ। च्याम्पियनसिको लागि नेपालले लगनखेलमा रहेको आर्मीको शारिरीक सुगठन तथा प्रशिक्षण केन्द्रमा प्रशिक्षक गरेको थियो।
राउण्ड रोविन लिग फर्म्याटमा हुने च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो खेलमा भोली माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले शुक्रबार आयोजक बंगलादेश, शनिबार माल्दिभ्स तथा सोमबार किर्गिस्थानसँग खेल्ने तालिका छ। सबै खेलहरु मिरपुरस्थित शाहिद सुहवार्डी इनडोर स्टेडियममा हुनेछ।
प्रशिक्षक कपिल किशोर श्रेष्ठका अनुसार सेन्ट्रल जोनमा च्याम्पियन रहने टोली भारत, श्रीलंका, पाकिस्तान र कजाखस्तान रहेको रहेको सेन्ट्रल जोनको दोस्रो चरणमा खेल्न पाउनेछ।
नेपालले अहिलेसम्म कुनै पनि आधिकारिक प्रतियोगितामा उपाधि जित्न सकेको छैन। तीन वर्ष अघि काठमाडौंमै भएको प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलमा जितेको कास्य नै नेपाली पुरुष टोलीले हात पारेको एक मात्र उपलब्धी हो।