
काठमाडौं : सातौं राष्ट्रिय खेलकुद–२०७३ अन्तर्गत महिला फुटबलमा बुधबार भएको दुवै लिग खेल बराबरीमा टुंगिएको छ।
समूह ‘क’ को खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब र नेपाल प्रहरी क्लबले १-१ को बराबरी खेले। धीमकुमारी गुरुङले १८ औं मिनेटमा गोल गर्दै प्रहरीलाई अग्रता दिलाएकी थिइन्। तर एपीएफकी तेजकुमारी गुरुङले ३८ औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो।
बराबरीसंगै प्रहरी विजेता र एपीएफ उपविजेतका रुपमा सेमिफाइनल पुगे। प्रहरी र एपीएफको समान ७/७ अंक भएपनि गोलअन्तरका आधारमा प्रहरी समूह विजेता बनेको हो। प्रहरीले ८ गोल गर्दै १ गोल खाएको छ। आठै गोल गरेको एपीएफले २ गोल खाएको छ।
दुहबी रंगशालामा भएको समूह ‘ख’ को खेलमा नेपाल आर्मी क्लब र मध्यमाञ्चलले गोलरहित बराबरी खेले। बराबरी पछि आर्मी ७ अंकसाथ विजेता र मध्यमाञ्चल ५ अंकसाथ उपविजेता हुँदै सेमिफाइनलमा पुगे।
बुधबारको खेल समापनसंगै सेमिफाइनल समीकरण पनि तयार भएको छ। प्रहरी र मध्यमाञ्चल तथा एपीएफ र आर्मीबीच सेमिफाइनल खेल शुक्रबार हुनेछ।
समूह चरणबाट बाहिरिसकेका पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल तथा पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलले विहिबार प्रतिस्पर्धा गर्नेछन्।
पुरुष फुटबल भोलिदेखि
सातौं राष्ट्रियअन्तर्गत पुरुष फुटबल बिहीबारदेखि सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सुरु हुँदैछ। प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टिमले लिग कम नकआउट आधारमा खेल्नेछन्।
समूह ‘क’ मा प्रहरी, पूर्वाञ्चल, पश्चिमाञ्चल र मध्यमाञ्चल तथा समूह ‘ख’ मा एपीएफ, मध्यपश्चिमाञ्चल, साविक विजेता सुदूरपश्चिमाञ्चल र आर्मी छन्। दुवै समूहका विजेता र उपविजेता सीधै सेमिफाइनलमा पुग्नेछन्।
विहिबार समूह ‘क’ अन्तर्गत पहिलो खेलमा प्रहरी र पूर्वाञ्चल तथा दोश्रो खेलमा पश्चिमाञ्चल र मध्यमाञ्चलबीच प्रस्पिर्धा हुनेछ। फाइनल खेल सातौं राष्ट्रिय खेलकुदको अन्तिम दिन पुस १५ गते हुनेछ।