
काठमाडौँ : नेपाल पत्रकार महासङ्घको साधारण सदस्यता वितरण र नवीकरण एकपक्षीय रुपमा गरेको भन्दै नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ ।
राजधानीमा उपलब्ध युनियनका पदाधिकारी र सदस्यको बुधबारको बैठकले महासङ्घ सबै सञ्चारकर्मीको छाता संस्था भए पनि सदस्यता वितरणमा पक्षपात भएको भन्दै आपत्ति जनाएको हो ।
युनियनका कार्यवाहक अध्यक्ष दीपक आचार्यको सभापतित्वमा भएको बैठकले कतिपय जिल्लामा युनियनलाई बेवास्ता गरी महासङ्घले सदस्यता वितरण र नवीकरण गरेको भन्दै त्यसलाई सच्याउन माग गरेको छ ।
बैठकले सदस्यताको विवाद नभएका जिल्लामा पनि जबर्जस्ती उजुरी हाल्न लगाई विवाद निम्त्याएको आरोप लगाएको छ । युनियनले सङ्गठन सुदृढीकरण तथा महासङ्घको महाधिवेशनलाई मध्यनजर गरी युनियनकोतर्फबाट तयारीका लागि मुलुकभर केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । रासस