काठमाडौं : मन्त्रिपरिषद्को आजको बैठकले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको छ।
द्रुतमार्ग निर्माणका पहिला तयार गरिएको डिपिआर उपयोग गर्न सकिने वा नयाँ बनाउने, निर्माण कार्यमा जनताको लगानी वा अरु उपायको खोजी गर्नेबारे एक महिनाभित्र सिफारिस गर्ने अधिकार समितिलाई दिइएको छ।
यस्तै बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरण पुनरावेदन समितिको अध्यक्षमा प्रमोदकुमार वैद्यलाई नियुक्त गरेको छ। राष्ट्रिय फुटबल टिमलाई प्रोत्साहनस्वरुप ७५ लाख रुपैयाँ रकम दिने पनि बैठकले निर्णय गरेको छ। बैठकले शुक्लाफाँट वन्यजन्तु आरक्षणको नाम परिवर्तन गर्ने र त्यसलाई राष्ट्रिय निकुञ्जमा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ।
आजको बैठकले शान्ति कोष स्थापना गर्ने, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त विषयको विद्येयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ। त्यसैगरी मानव कृत्रिम अंग प्रत्यारोपणका सम्बन्धमा सहजीकरणका लागि एक संस्थाको स्थापना गर्ने, नेपाल औषधि लिमिटेडको जिएममा रोवसकुशुम सुवेदीलाई नियुक्त गर्ने बैठकले निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए।