PahiloPost

Mar 28, 2025 | १४ चैत्र २०८१

​लोकमानले महाभियोगमा खोले मुख, सोध्छन्– 'मैले मन्त्रीहरुको नियुक्तिमा हस्तक्षेप गरेँ कि?'



पहिलोपोस्ट

​लोकमानले महाभियोगमा खोले मुख, सोध्छन्– 'मैले मन्त्रीहरुको नियुक्तिमा हस्तक्षेप गरेँ कि?'

काठमाडौँ : निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकानसिंह कार्कीले आफू विरुद्ध दर्ता भएको महाभियोगबारे मुख खोलेका छन्। अदातलमा कार्की विरुद्ध कालोमोसो सहित भएको आक्रमण लगत्तै कार्कीले अपिल जारी गर्दै महाभियोगबारे बोलेका हुन्। आक्रमणको दश मिनेट भित्रै भएको झण्डै १५ सय शब्दको अपिलमा उनले आफू भ्रष्ट्राचार विरुद्ध लागेबापत 'फूलको संरक्षणण गरेबापत मालीले कुटाई खानुपर्ने  जस्तो अवस्था पैदा भएको उल्लेख गरेका छन्।

के छ लोकमानको अपिलमा?

  • गृष्म याममा शितलता प्रदान गरेबापत वृक्षले फेदै देखि ढालिनु पर्ने, अँध्यारोमा प्रज्ज्वलित भएर प्रकाश छरे बापत दियोले फुट्नु पर्ने, फूलको स्याहार सम्भार र संरक्षण गरेबापत मालीले कुटाई खानुपर्ने जस्तो अवस्था पैदा भए कस्तो होला ? भ्रष्टाचार नियन्त्रणका निम्ति गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त म लोकमान सिंह कार्की यतिबेला यस्तै प्रश्नको जवाफ बन्नु परेको छ ।
  • पछिल्लो समयमा म माथि नियोजित ढङ्गले लगाईएका लाञ्छना, आरोप र दोषारोपणका श्रृंखलाहरु मलाई हतोत्साहित गर्ने कुत्सित् प्रयासका उपज हुन् भन्ने मलाई लागेको छ ।
  • तलदेखि माथिसम्म फोहोर देखिए पछि कहिं न कहींबाट हामीले कुचो लगाउनैपर्थ्यो । तलदेखि माथीसम्म सफाईका निम्ति निडरतापूर्वक अभियान चलाईयो । हामीले यसरी सक्रियता दर्शाउँदा जनता प्रसन्न भएकै हुन् र भ्रष्टाचारीहरु थर्कमान र निरुत्साहित पनि अवश्य बनेका हुन्। भ्रष्टाचार बिरुध्दको काम कारवाहीलाई सघन र सशक्त बनाउन खोज्दा खास दलका नेता र कतिपय माननीय सांसदज्यूहरु के कति कारणले मेरा विरुध्द महाअभियोगको वाण हान्न अग्रसर हुनु भएको हो यो मैले बुझ्न सकेको छैन।
  • अनुसन्धान र कार्यवाहीको दायरा विस्तार गरिएसंगै मेरा विरुध्दको गतिविधिमा तीब्रता आउनु र महाअभियोग लगाउने सम्मको प्रपञ्च रचिनुलाई संयोग मात्र मान्न मैले सकिरहेको छैन ।
  • अकुत सम्पत्ति सम्बन्धी सम्पूर्ण छानबिन प्रक्रिया गरी मुद्दा दायर हुनै लागेका राष्ट्रिय स्तरका केही नेताहरुले क्यानाडाबाट म फर्केकै दिन अप्रत्याशित र छापामार शैलीबाट रातको ९ बजे षडयन्त्रपूर्वक ल्याईएको मेरा बिरुध्दका महाअभियोग प्रस्तावको बारेमा कस्तो दृष्टिकोण बनाउने हो सो को जिम्मेवारी मैले समस्त नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा सुम्पिएको छु।
  • निर्दोष हुंदा हुंदै म माथी अहिले गैरकानूनी प्रक्रियाबाट राज्यका अति उच्च अङ्गमा पदासिन केही व्यक्तिहरुले पूर्वाग्रह राखी गरेको प्रहारको मूल्यांङ्कन गर्ने जिम्मेवारी पनि मैले ईतिहासलाई नै छोडिदिएको छु, इतिहासको कुनै न कुनै कालखण्डमा म माथी भएको यो गैरकानूनी आक्रमणको मूल्यांङ्कन अवश्य हुने छ भन्ने विश्वास गरेको छु ।
  • पदको दुरुपयोग गरी आफ्नो एक साथीलाई विशेष लाभ पुर्याएर भ्रष्टाचार गरेको आरोपमा दक्षिण कोरियाको राष्ट्रपति बिरुध्द महाअभियोग प्रस्ताव पारित हुनुले पनि उक्त मुलुक सुशासन र पारदर्शिताप्रति सम्वेदनशील छ भन्ने दर्शाउँछ । आश्चर्यजनक र दुःखद संयोग नै मान्नु पर्छ, दक्षिण कोरियामा भ्रष्टाचार गर्ने राष्ट्रपति बिरुध्द महाअभियोग लाग्दा नेपालमा चाहिँ भ्रष्टाचार बिरुध्द निडरतापूर्वक कदम चाल्ने मैले आफ्नै बिरुध्द महाअभियोगको सामना गर्नु परिरहेको छ।
  • हालसम्मका नियोजित चालहरुको सूक्ष्म अध्ययन गर्दा अख्तियार प्रमुखबाट जसरी भएपनि मलाई विस्थापित गरिछाड्ने नियत सतहमा प्रकट भएको मैले ठानेको छु । म लोकमान सिंह कार्की कुनै जिम्मेवारीमा रहनु या नरहनु मुख्य र महत्वपूर्ण कुरा होईन, तर मेरो प्रश्न छ– विधिको शासन सुदृढ तुल्याउने, जनतामा सुशासनको प्रत्याभूति दिलाउँदै स्वच्छ र जनमुखी प्रशासन बनाउने, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउदै समृध्द राष्ट्र निर्माण गर्ने भनी राजनीतिक तहमा भएका प्रतिबध्दता पुरा गर्न अख्तियार प्रमुखको रुपमा हामीले लिएको अठोटमा खोट कहाँनेर भयो?
  • स्वदेशमा आर्जित धन गैह्रकानूनी रुपले विदेशी बैंकमा जम्मा गर्ने र राज्यको प्रचलित कानून बिपरित विदेशमा लगानी गर्नेहरुलाई कानून बमोजिम कारवाही प्रक्रिया शुरु गरेर मैले के गल्ती गरें ? लोकतन्त्रप्रति जनतामा आस्था र भरोसा जगाउन प्रयत्न गर्नु मेरो गल्ति हो या उपल्लो तहबाट हुने भ्रष्टाचारलाई समेत नियन्त्रण गर्न अख्तियारलाई सक्रिय बनाउनु नै मेरो गल्ती हो ?
  • मेरा बिरुद्ध महाअभियोग प्रस्ताव गर्ने कतिपय राजनीतिक नेता अनुसन्धानको दायरामा रहेका, मेरा बिरुद्ध सार्वजनिक रुपमा निरन्तर अभिव्यक्ति दिने केही राजनीतिक नेताहरु समेत महाअभियोग सिफारिस समितिमा भएका र निजहरुले प्रक्रिया शुरु हुनु पूर्व नै विभिन्न सार्वजनिक मञ्चहरुमा मलाई महाअभियोग लगाइ छाड्ने उदघोष गरेकोले उहाँहरुले दिने न्याय कस्तो हुन सक्ला भन्ने प्रश्न उठेको छ । महाअभियोग सिफारिस समितिका ५ जना माननीय सदस्यहरु नै १५७ जना प्रस्तावकहरु मध्ये हुनुबाट समितिले निष्पक्ष न्याय सम्पादन गर्ने विषय शंकास्पद बन्न पुगेकोछ ।
  • राज्यका जिम्मेवार पदाधिकारीबाट मैले देशको कार्यकारी प्रमुख बन्न खोजेको या बनेको भन्ने सम्मका आरोप पनि व्यहोर्नु पर्यो, परिरहेको छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासनको अनुभुति जनतालाई दिलाउन कानून बमोजिम मलाई दिईएको बाहेक मैले कहिले कुन अधिकार प्रयोग गरें या गर्न खोजें त्यसको प्रमाण प्रस्तुत होस् भन्ने म चाहन्छु । मैले मन्त्रीहरुको नियुक्तिमा हस्तक्षेप गरें कि ? न्यायाधिश, सचिव, अध्यक्ष, महाप्रबन्धक, सञ्चालक या सरकारले नियुक्त गर्नुपर्ने पदहरुमा मैले आफ्ना कसैलाई चयन गर्न भनें कि आफैले नियुक्त गर्न थालें ? कि मैले समानान्तर प्रशासनिक संरचना खडा गरे ? सरकारले गर्ने कुनचाहिँ काममा मैले बाधा पुर्याएँ वा हस्तक्षेप गरें भन्ने कुराको तथ्य विवरण प्रस्तुत नगरी म माथी जुन प्रकारको आरोप लगाइयो र मेरा बिरुध्द जसरी प्रचारबाजी गरिएको छ, यसले पनि म माथीको पूर्वाग्रह जाहेर गरेको छ ।
  • अहिले मलाई जुन महाअभियोगको चक्रव्युहमा अल्झाईएको छ, ईश्वरको अनुकम्पाले म यो चक्रव्युहबाट मूक्त हुने छु भन्ने विश्वास छ।
  • म यतिवेला धेरै तथ्यपूर्ण रहस्यका पोकाहरु खोल्न चाहन्न, तर जनताले चाहेको, देशले मागेको उपयुक्त समयमा सम्पूर्ण तथ्य विवरण जनसमक्ष प्रस्तुत गर्न म हिचकिचाउने छैन । कानून पालना गराउने दायित्व बोकेकाहरुले आफ्नो कर्तव्य निर्वाह गरे बापत दण्डित हुनुपर्ने र भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्धन गर्ने दायित्व बोकेका व्यक्तिले भ्रष्टाचार नियन्त्रणका निम्ति कदम चालेकै कारण अपमानित र अपहेलित हुनुपर्यो भने त्यसवेला कैयन सीमाहरु भत्कन सक्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखका रुपमा भ्रष्टाचार नियन्त्रणका निम्ति गरिएका प्रयासलाई अवरोध पुर्याईन्छ भने सचेत नेपाली नागरिकका रुपमा भ्रष्टाचार बिरुध्दको अभियान चलाउनु मेरो स्वभाविक कर्म हुनेछ । त्यसवेला कतिको शरीरमा वस्त्र बाँकी रहला समयले नै बताउने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell