38.jpg)
राष्ट्रिय फुटबल टीमका कप्तानसहित विमल घर्ती मगर जस्ता स्टार खेलाडी रहेको पश्चिमाञ्चल सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमै पराजित भएको छ।
सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा बिहिबार भएको खेलमा पश्चिमाञ्चललाई मध्यमाञ्चलले ३-० ले पराजित गरेको हो। मध्माञ्चलले तीनै गोल दोस्रो हाफमा गरेको थियो। मध्यमाञ्चलका लागि निरबहादुर आले, रुमेश बर्तौला र श्याम बाबुले गोल गरे।
विहिबारै भएको पहिलो खेलमा पुलिसले पुर्वाञ्चललाई २-१ गोलअन्तरले पराजित ग¥यो। पहिलो हाफमा सुमन लामा र बुद्ध लामाले गोल गर्दै पुलिसलाई दुई गोलको अग्रता दिलाएका थिए। पुर्वाञ्चलका लागि दोस्रो हाफमा दिपक राईले फ्रि किकबाट एक गोल फर्काए।
जितसँगै मध्याञ्चल र पुलिसले समूह क मा ३/३ अंक जोडेको छ।
समूह ख अन्तर्गत शुक्रबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल र नेपाल आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।
सुदूर र मध्यपश्चिमको सान्त्वना जित
यता महिलातर्फ यसअघि नै समूह चरणबाट बाहिरिसकेका सुदूरपश्चिम र मध्यपश्चिमले अन्तिम खेलमा सान्त्वना जित हात पारेका छन्।
सुनसरीको दुहबी रंगशालामा भएको खेलमा सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललाई १-० ले पराजित गर्यो। सुशीला चौधरीले सुदूरको लागि निर्णायक गोल गरिन्।
अर्को खेलमा मध्यपश्चिमाञ्चलले पूर्वाञ्चललाई २-१ ले हरायो। मध्यपश्चिमको जितमा आशा शाही र मन्जुर चौधरीले गोल गरिन्। पूर्वाञ्चलकी मुना लावतीले पेनाल्टीमार्फत एक गोल गरिन्।
समूह ‘क’ बाट नेपाल प्रहरी विजेता र एपीएफ उपविजेता तथा समूह ‘ख’ बाट नेपाल आर्मी विजेता र मध्यमाञ्चल उपविजेता हुँदै बुधबारै सेमिफाइनलमा पुगिसकेका छन्।