डोटी : १० वर्षदेखि गौचरन बनेर बसेको दीपायल विमानस्थल धावनमार्ग कालोपत्रे गर्ने काम शुरु भएको छ । असारमा कालोपत्र गर्नका निम्ति निस्किएको टेन्डर गत कात्तिकमा आएर सम्झौता भएको हो । सम्झौतासंगै कालोपत्रेको काम अगाडि बढेको नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत बालकृष्ण रेग्मीले बताए।
कालोपत्र गर्नका निम्ति आवश्यक सामान दीपायल ल्याउने कार्य भइरहेको उनले बताए । “कालोपत्र गर्न धेरै गिट्टीको आवश्यकता हुन्छ, त्यसका निम्ति क्रसर फिट गर्ने काम भइरहेको छ”, अधिकृत रेग्मीले भने ।
सपना गाल्बा जेवी निर्माण समितिले कालोपत्र गरिरहेको विमानस्थलमा करिब रु पाँच करोड ५० लाखको रकम खर्च हुने विमानस्थल कालोपत्रका साइट इन्चार्ज समेत रहेका रेग्मीले जानकारी दिए ।
करिब साढे चारसय मिटर लम्बाइ भएको विमानस्थलको कालोपत्र गर्ने कार्य १५ महिना भित्रै सकिने बताइएको छ । १० वर्षदेखि ओझेलमा परेको विमानस्थल कालोपत्र गर्नका निम्ति डोटी क्षेत्र नं २ का सांसद प्रेमबहादुर आलेमगरले आफूले पहल गर्नु परेको बताए।
विमानस्थल कालोपत्रपछि छिमेकी जिल्ला अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, दार्चुलाका नागरिकलाई सहज हुनेछ।
रासस