1.png)
काठमाडौं : सर्वोच्च अदालतको प्रधानन्यायाधीश र न्यायाधीशको सुरक्षामा १ सय ७४ जना प्रहरी खटिएका छन्। तीमध्ये ७० जना प्रहरी सर्वोच्च अदालतको सुरक्षामा खटिएका हुन्छन्। बिहीबार यही बाक्लो सुरक्षा घेराभित्र दुई जनाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दले।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको चार वर्षअघि भएको हत्यापछि न्यायाधीशहरुले सुरक्षा माग गरेका थिए। त्यसपछि न्यायाधीश निवास, ब्यक्तिगत सुरक्षा र अदालत परिसरको सुरक्षाका लागि छुट्टै प्रहरी इकाई गठन भएको थियो।
सर्वोच्चको हकमा महानगरीय प्रहरी कार्यालयले एसपीको कमान्डमा सर्वोच्च अदालत समन्वय तथा सुरक्षा इकाई गठन गरेको थियो। सर्वोच्च परिसरदेखि प्रधानन्यायाधीश र न्यायाधीशसम्मको सुरक्षाको जिम्मा यही इकाइको हो।
‘सर्वोच्चमा एक सय ७४ प्रहरी खटिएका छन्,’ स्रोतले भन्यो ‘त्यसमध्ये ७० जना अदालतको परिसर र अदालतभित्रको सुरक्षामा खटिएका छन्।’
सर्वोच्च परिसरभित्रै कार्कीमाथि आक्रमण भएपछि प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय घटनामा प्रहरीको भूमिकाबारे समीक्षा गरेका थिए।
स्रोतका अनुसार घटनाको प्रकृति अनुसार सुरक्षा चुक देखिएको दुबैतर्फको समीक्षाको निष्कर्ष छ।
‘प्रहरीको सुरक्षा जिम्मेवारी रहेको क्षेत्रभित्र यस्ता घटना हुनु भनेको चुक नै हो,’ स्रोतले भन्यो, ‘कुन अवस्थामा कसरी घटना भयो, त्यो विस्तृत समिक्षापछि खुल्नेछ।’
सर्वोच्च अदालतमा प्रवेशकालागि मुख्यतया चार गेट हुन्छन्। नेपाली सेनाको क्याभलरीतर्फको गेटबाट सर्वोच्च र न्यायपरिषद्काय कर्मचारीले मात्र इन्ट्री पाउँछन्।
त्यस्तो अर्को गेट छ महान्याधिवक्ताको कार्यलयबाट। त्यहाँबाट सरकारी वकिल, कानुन व्यवसायी र कर्मचारी प्रवेश गर्छन्। तर महान्यायाधिवक्ता कार्यालयमा प्रवेश गर्नकै लागि प्रहरीको सेक्युरिटी चेक पास हुनुपर्छ।
बाँकी दुई गेटमा पनि नेपाल बार एशोसिएसन तर्फको गेटबाट कानुन व्यवसायी र पास भएका पत्रकारले मात्र प्रवेश पाउँछन्। सर्वसाधारणका लागि भने सर्वोच्चको एउटै मुख्य गेट पार गर्नुको विकल्प छैन। त्यहाँ प्रहरीले झोला मात्र खानतलासी गर्दैनन्, शरीर पनि जाँच गर्छन्। अनि उनीहरुले मेटल डिटेक्टरबाट जाँच गरेपछि मात्र भित्र जान दिन्छन्। त्यहाँ मेटल डिटेक्टर गेट समेत राखिएको छ।
यस्तो अवस्थामा प्रश्न उठ्छ - कहाँबाट प्रवेश गरे लोकमानलाई कालोमोसो लगाउने दुई युवक? कुनै पनि नागरिकले सर्वोच्च परिसरमा उभिनकै लागि मात्र पनि आफ्नो मुद्दाको मिसिलसहितको कागजपत्र वा नागरिकता देखाउनुपर्छ। इजलासमा जान भने नागरिकता राखेर अर्को पास लिनुपर्छ। तर यी दुई युवक भने इजलास जान आएका थिएनन्। के प्रहरीले उनीहरुको नाम टिपेको थियो? सुरक्षा चुकमा थप प्रश्न खडा हुन्छ।