
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले राजनितिक दलभित्र संविधान संशोधन विषयमा देखिएको विवादको समधान संसदबाट नै खोजिनुपर्ने बताएका छन्।
काठमाडौँमा शुक्रबार सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विद्येयक दर्ताको बिषयमा देखिएको विवाद अस्वभाविक र असान्दर्भिक नभएकाले चित्त नबुझेका बिषयमा संसदमा नै छलफल गर्न दलहरुलाई आग्रह गरे।
उनले अहिले दलहरुबीच भएको विवाद केहि दिनमा नै समाधान हुने र त्यसको लागि वार्ता र संवाद भइरहेको जानकारी दिए।
गत मंसिर १४ गते संसदमा सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितका दलहरुले संसदमा अवरोध गर्दै आएका छन्। सत्तारुढ दलहरुले संसदबाटै समाधान खोज्नुपर्ने जिकिर गरिरहँदा एमालेले भने संसदमा विधेयक प्रस्तुत गर्न अवरोध गर्दै फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ।
प्रधानमन्त्री प्रचण्डले भने, 'चाँडै नै यो समस्याको समधान खोजिन्छ र संविधान कार्यन्वयनको बाटोमा अघि बढछ।'
उनले सरकार समय सिमा भित्रै तीन तहको निर्वाचन गर्ने तयारीमा जुटेको बताए। संविधान कार्यान्वयन र निर्वाचन गर्नको लागि दलहरुबीच राष्ट्रिय सहमतिको आवश्यकता भएको दाहालले उल्लेख गरे।
समाजमा अपराधको नया शैली र सांगठानिक अपराध बढेकाले घटनामा संलग्न अपराधीलाई कारबाही र पीडितलाई न्याय दिन सरकारी वकिललाई चुनौती थपिएको उनको भनाई थियो।