बिग्रिएका, भत्किएका विषयहरुको रिपोर्टिंग गर्दागर्दै कनिका दिक्क भएकी थिइ। समस्या जहाँसुकैकोे होस्, सबैको कुरा एउटै हुन्थ्यो- जनताका आँखामा रिस र आवेग देखिन्थ्यो, ‘देश चलाउने नेताहरु सबै चोर हुन्। यिनीहरुले गर्दा नै देशको विकास हुन नसकेको हो।’ गाउँको सचिवले वृद्धभत्ताको रकम मासे पनि नेतालाई दोष, विधवा भत्ता हिनामिना गरेपनि नेतालाई दोष।
कनिका सोच्दै थिई, ‘पाँच–सात करोड कमिसन कुम्ल्याउने नेताहरुले पाँच–सात सयमा पनि र्याल काड्छन् भने सेम सेम सेम। त्यसो त गर्दैनन् होला। त्यो त अति नै भयो। जे भएपनि, कनिकाले धेरै कुरा बुझ्न थालेकी छ। कुनै बेला राजनीतिको नाम लिनासाथ दश हात पर भाग्ने केटी अहिले त जिब्रो फटकारी फटकारी राजनीतिको कुरा गर्ने भएकी छ।
अहिले कनिका बेग्लै प्रकारको टेन्सनमा छ। पर्सनल टेन्सन। मधेशबाट उसको ग्य्राण्डमा आएकी छिन्। उनको एकमात्र चिन्ताको विषय नातिनीको बिहे बनेको छ। उमेर खाइसकेकी छोरीको समयमा नै बिहे गरिदिनुपर्छ भन्छिन ग्य्राण्डमा। छोरा–बुहारी आमाको कुरै सुन्दैनन्। हिजो साँझ खानाको टेवुलमा ग्य्राण्डमाले कनिकाको बिहेको कुरा उठाइन्। कनिकाको ड्याडी–मम्मी दुवैले आमाको कुरामा ध्यानै दिएनन्। बुढिया भन्दै थिइन्, कामतीपुरका जमिन्दार सुव्वा नरप्रसादका छोरा भीमप्रसाद कनिकाका लागि लायक छन्। हट्टाकट्टा, पढे–लेखेको र भलादमी। ग्य्राण्डमाको कुरा सुनेर कनिका उत्तेजित भइ। उसले हजुरमुवालाई आफनो मोबाइलमा राखेको चार्लीको फोटो देखाउँदै भनी, ‘मैले बिहे गर्ने केटो यी यो हो। कता म भीमप्रसादसँग बिहे गर्छु?’ त्यसपछि ग्य्राण्डमा केही बोलिनन्। उठेर कोठातिर हिंडिन्।
भोलिपल्ट बिहान उनी कनिकाको बिहेको कुरामा छोराबुहारीसँग जंगिदै थिइन्, ‘तिमीहरुलाई जात–भातको केही मतलब छैन। बाबु–आमाको इज्जतको ख्याल छैन। कुल–घरानाको मर्यादा छैन। अब भएकी एउटी छोरीले पनि बिजातीसँग बिहे गरी भने के भन्ला लोकले?’ छोरा–बुहारीले आमाको कुरा एउटा कानले सुने र अर्को कानले उडाए। उनीहरुले चाहेर पनि गर्नसक्ने केही थिएन। कनिकाको जीवन त उसकै मर्जीमा चल्छ। बाबु–आमाले किन दिने त्यसमा दवाव? छोरीले पढिन्, काम गरिन्, बिग्रिएर हिंडी भने पो बाबु–आमाले हस्तक्षेप गर्नु। आफनो हैसियतमा बसेकी केटीलाई कताको लगाम लगाउनु।
ब्रेकफास्ट खाएर कनिका अफिस पुगी। उसलाई थाहा थियो, सुदिप्ती नौ बजे अफिस आइसक्छे। ऊ सुदिप्तीबाट केही स्टोरी लाइन पाउने आशामा थिइ। तर, सुदिप्ती अर्कै मूडमा थिइ। उ कनिकालार्ई लिएर संघीय सीमांकन फेर्ने कुराको विरोधमा आन्दोलन चलाइरहेका जिल्लाहरुको भ्रमणमा जान चाहन्थी। सुदिप्तीको दृष्टिमा यो आन्दोलन खतरनाक थियो। यसले लोकतान्त्रिक मान्यताको भलो गर्दैन भन्ने लागेको थियो सुदिप्तीलाई। ऊ त्यो आन्दोलनलाई सम्पूर्णतामा हेरेर निष्कर्ष निकाल्न चाहन्थी। देशमा चलेका अनलाइनहरुले जस्तो सुदिप्तीले कनिकालाई आफनो प्रस्ताव सुनाइ। सुनेर कनिका दंग परी। उनीहरु त्यही अपराह्न भैरहवाका लागि उडने भए। रात लुम्विनीमा बिताउने र भोलिपल्ट फिल्डमा जाने कार्यक्रम तयार भयो।
उनीहरु भैरहवा विमानस्थलमा ओर्लिदा साँझ झमक्क परिसकेको थियो। उनीहरुलाई लिन लुम्विनीको शान्ति सदन होटेलले गाडी पठाएको थियो । एउटा सुन्दर, हट्टाकट्टा र निकै स्मार्ट देखिने मानिसले कनिकासँग सोध्यो, ‘तपाईंहरु पत्रकार हो ?’
चालकको नाम मोहन थियो। सामान्य परिचयपछि सुदिप्ती र कनिका गाडीमा बसे। दुवै चालकको व्यक्तित्वको आकर्षणमा फँसेका थिए। कनिका मुख मिठ्याउँदै थिइ । सुदिप्ती चालकको अनुहार पढदै थिइ । उसलाई लागेको थियो, ‘यो प्रोफेसनल ड्राइभर होइन।’
सुदिप्तीको अन्दाज फेल खाएन। मोहन शान्ति सदन होटलको म्यानेजिंग डाइरेक्टरदेखि खलासीसम्म सबै कुरा थियो। ऊ खाली किचन र सर्भिसिंगमा फिट थिएन। डिस वासमा पनि उसको रुचि थिएन । आजपनि उ चालकलाई डिश वाशिंगमा फकाएर उनीहरुलाई लिन एयरपोर्ट पुगेको थियो।
‘हामीहरुलाई कसरी चिन्यौ त एयरपोर्टमा?’ कनिकाले सोधी ।
मोहनले जवाफ दियो, ‘त्यो त सजिलो भै गो नि । काठमाडौंबाट आएका केटी पत्रकार भनेपछि स्टाइलबाटै चिनीहालिन्छ नि।’
सुदिप्ती र कनिकाले खुकुरी वीथ कोक मंगाए । मोहनले भन्यो, ‘हामीकहाँ एव्सोल्युट भोडका पनि छ । पिच फ्लेवर।’
उनीहरुले यस र नो केही बोलेनन्। मोहन कनिकालार्ई आँखा मर्काउँदै किचनतिर लाग्यो।
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)
यो सिरिजका थप गाथा
छोटो स्कर्ट लाए पनि समस्या, क्लिभेज र कर्भ देखिए पनि समस्या
संसदमा कनिकालाई सांसदको सेक्सिस्ट रिमार्क
यसअघिका २९ गाथाको संग्रह एकै ठाउँमा, डाउनलोड गर्नुस् इबुक