
नेपाली खेलक्षेत्रकै कुम्भ मेला मानिएको बृहत राष्ट्रिय खेलकुदको सातौं संस्करण अन्तत आजदेखि पूर्वाञ्चलका विभिन्न जिल्लामा हुँदैछ। पहिलो पटक पूर्वाञ्चल विकास क्षेत्रमा हुन लागेको बृहत खेलकुदको उद्घाटन सम्माननित राष्ट्रपतिले विराटनगर रंगशालमा गर्ने तय छ। सातौंमा पाँच विकास क्षेत्र र तीन विभागिय गरी कुल ८ टीमका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ।
के के छन् त सातौंको विशेषता, यी हुन ७ हाइलाइट्स
५ वर्षपछि हुँदै
छैटौं राष्ट्रिय खेलकुद २०६८ फुगन १४ देखि २१ सम्म सुदूरपश्चिमाञ्लमा भएको थियो। सातौं त्यसको दुई वर्षपछि गर्ने भनिएपनि करिब ५ वर्ष हुन लागेको छ।
यस्तै राष्ट्रिय खेलकुदको ३५ वर्षे इतिहासमा पूर्वाञ्चलमा बृहत खेलकुद हुन लागेको यो पहिलो पटक हो। विस २०३८ मा सुरु भएको बृहत खेलकुदको सुरुवाती तीन संस्करण २ वर्षको अन्तरमा भएको थियो। तर त्यसपछि भने निरन्तर हुन सकेन। चौथो संस्करण हुन १३ वर्ष कुर्नुपर्यो। २०५५ मा चौथो संस्करण भएको ११ वर्षपछि २०६५ मा पाँचौं भयो भने त्यसको ३ वर्षपछि सातौं खेलकुद भयो।
चौथो पटकमा जुर्यो साइत
सातौँ राष्ट्रिय खेलकुदको लागि यो एकैपटक जुरेको साइत होइन। तीन पटक सरेको सातौ चौथोपटक तोकिएको मितिमा हुँदैछ। २०७२ साल मंसिर ११ गतेदेखि १८ सम्म पहिलो पटक सातौंको मिति तोकिएको थियो। त्यसपछि गत वर्षकै फागुन १८ देखि २३ सम्म दोस्रो पटक तोकिएको मितिमा पनि हुन सकेन।
यस वर्ष पनि गत मंसिर ८ गतेदेखि १५ सम्म तेस्रो पटक मिति तोकिएको थिएन। तर त्यसमा पनि हुन नसकेपनि चौथो पटक तोकिएको मितिमा हुन लागेको हो।
खेल संख्या
सातौँमा कुल ३५ खेल समावेश छ। तर ट्रायथलन, पौडी र शारिरीक सुगठनको प्रतियोगिता गत वर्ष नै भइसकेको छ भने गल्फ र विलियर्ड तथा स्नुकर सम्बन्धीत संघले नै गर्नेछ।
त्यसबाहेक यस पटक सातौंमा ३० खेलको मात्र प्रतिस्पर्धा हुनेछ। यसमा पनि आर्चरी, फेन्सिङ, स्क्वास र साइकलिङमा कोटा नपुगेका कारण पदक गणना नहुने राखेपले बताएको छ। छैटौं राष्ट्रिय खेलकुदमा खेलाइएका ३१ खेलबाहेक खोखा, सेपाताक्रो, ट्रायथलन र फेन्सिङलाई सातौंमा समावेश गरिएको हो। यसमध्ये पनि सेपाताक्रो, ट्रायथलन र फेन्सिङ पहिलो पटक बृहत खेलकुदमा समावेश गरिदैँछ।
यसबाहेक राखेपले रग्वी, साम्बो, रक क्लाइम्बिङ, डान्स स्पोर्ट्स र लोकदोहरीलाई प्रदर्शनी खेलको रुपमा समावेश गरेको छ।
सातौमा समावेश खेलहरु
फुटबल, एथ्लेटिक्स, तेक्वान्दो, बक्सिङ, कराते, भारोत्तोलन, भलिबल, टेबलटेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केटबल, चेस, ह्याण्डबल, आईटिएफ तेक्वान्दो, फुल कन्ट्याक कराते, हक्की, स्क्वास, शुटिङ, जिम्न्यास्टिक, लन टेनिस, सफ्ट टेनिस, क्रिकेट, आर्चरी, साइकलिङ, सेपाताक्रो, खो खो, फेन्सिङ
खेल स्थल
सातौं खेलकुद लागि पूर्वाञ्चलका विभिन्न ६ जिल्लामा आयोजना हुँदैछ। सातौको औपचारिक उद्घाटन विरानगर तथा समापन धरानमा हुनेछ।
पूर्वाञ्चलका विभिन्न ६ जिल्लामा हुने भनेर भन्दै आएपनि अधिकाँश खेलहरु मोरङको विराटनगर र सुनसरीको इटहरीमा हुँदैछ। ११ खेलका प्रतिस्पर्धा सुनसरीमा हुनेछ भने ८ खेल मोरङमा हुनेछ। यसबाहेक केही खेलहरु झापा, सप्तरी, सिराह र धनकुटामा हुनेछ।
३० मध्ये २७ खेल पूर्वाञ्चलमा हुनेछ भने बाँकी खेल राजधानी र पोखरामा हुनेछ। स्क्वास ललितपुरमा, फेन्सिङ काठमाडौंमा र लनटेनिस कास्कीमा हुनेछ।
स्क्वास र फेन्सिङसँगै आर्चरी र साइकलिङका प्रतिस्पर्धी खेलाडी कम भएका कारण पदक गणना नहुने राखेपले बताएको छ।
खेलाडी संख्या
सातौं राष्ट्रियमा छनोट भएका र खुल्ला तर्फ गरी कुल ३ हजार ९ सय ७२ खेलाडीले सहभागिता जनाउने राखेपले जनाएको छ। क्षेत्रिय छनोटमार्फत २ हजार ९१४ र खुल्ला सहभागितामा एक हजार ५८ खेलाडी छन्।
छनोटमार्फत १७५३ पुरुष र ११६१ महिला छन् भो खुल्लातर्फ ५५० पुरुष ५०८ महिला खेलाडी छन्।
पदक संख्या
गत वर्ष भइसकेको ३ र सम्बन्धी संघले गर्ने २ बाहेक बाँकी ३० खेलका विजेता खेलाडीहरुलाई पदक दिइनेछ। ३० खेलमा २९४ स्वर्ण २९४ रजत र ४४७ रजत गरी कुल १०३५ पदक दिइनेछ।
तर खेलाडी कोटा नपुगेका खेलहरु आर्चरी, फेन्सिङ, स्क्वास र साइकलिङको पदक पदक तालिकामा असली रुपमा गणना हुनेछैन।
त्यसैले २६ खेलमा २६८ स्वर्ण, २६८ रजत र ४१६ कास्य गरी कुल ९५२ पदकका लागि खेलाडीहरु बीच प्रतिस्पर्धा हुनेछ।
मस्कट र लोगो
सातौं राष्ट्रिय खेलकुदको लागि कोशी टप्पुको अर्नालाई मस्कट बनाइएको छ। सोही मस्कटमा आधारित रहेर सातौंमा समावेश खेलहरुको आइकन समेत बनाइएको छ। यस्तै सातौको लागि बनाइएको लोगोमा गोलो घेराभित्र नेपालको झण्डा माथि राखिएको छ। लोगोको बीचमा सातौं राष्ट्रिय खेलकुद २०७३ पूर्वाञ्चल लेखिएको छ भने तल सात जनाले मसाल लिएर अगाडी बढेका छन्।
सहभागि टीमहरु
पूर्वाञ्चल विकास क्षेत्र
मध्यमाञ्चल विकास क्षेत्र
पश्चिमाञ्चल विकास क्षेत्र
मध्य पश्चिमाञ्चल विकास क्षेत्र
सुदूर पश्चिमाञ्चल विकास क्षेत्र
शसस्त्र प्रहरी बल एपीएफ
नेपाल प्रहरी
नेपाली सेना
अहिलेसम्म भएका बृहत राष्ट्रिय खेलकुद
प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८
दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४०
तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४२
चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता २०५५
पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०६५
छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०६८