
काठमाडौँ :अनिवार्य सम्पत्ती विवरण बुझाउनुपर्ने कानुन अटेर गर्दै नेपाल प्रहरी,सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका ५ सय २५ जनाले अझै सम्पत्ती विवरण बुझाएका छैनन्।
आर्थिक वर्ष २०७२|७३ मा उनीहरुले सम्पत्ति विवरण नबुझाएका हुन्। प्रहरी किताबखानाका महानिर्देशक मदन भुजेलका अनुसार सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी नेपाल प्रहरीका छन् । प्रहरीका ४ सय ७७ जना, सशस्त्र प्रहरी बलका २८ जना र राष्ट्रिय अनुसन्धान प्रहरीका २० जनाले सम्पत्ति विवरण बुझाएका छैनन्।
एक लाख नौ हजार ४०१ प्रहरी सुरक्षाकर्मीमध्ये एक लाख आठ हजार ८७६ जनाले सम्पत्ति विवरण बुझाएका छन् । राष्ट्रिय सतर्कता केन्द्र प्रहरी समूहका सबैले सम्पत्ति विवण बुझाएका छन् ।
किताबखानाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी र सतर्कता केन्द्र प्रहरी समूहका सम्पत्ति विवरण बुझ्ने गर्छ।
अघिल्लो वर्ष १ सय ६७ प्रहरी सुरक्षाकर्मीले सम्पत्ति विवरण बुझाएका थिएनन्।
सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारण गरेकाहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच हजार जरिवाना गर्छ । राससको सहयोगमा