PahiloPost

Mar 31, 2025 | १७ चैत्र २०८१

​सातौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एपीएफ र मध्यमाञ्चलको विजयी सुरुवात, पूर्वाञ्चल हार्यो



पहिलोपोस्ट

कप्तान पारस खड्कासहित राष्ट्रिय टीमका अधिकाँश खेलाडी सम्मिलित एपीएफले सातौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटतर्फ विजयी सुरुवात गरेको छ। शुक्रबार भएको समूह ए को पहिलो खेलमा एपीएफले मध्यपश्चिमाञ्चललाई २६ रनले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले सन्दीप सुनारको अर्धशतकको मद्वतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। ओपनरद्वय सुवास खकुरेल र मोहम्मद आसिफ शेखलाई सस्तैमा गुमाएपनि सन्दीपले इनिङ सम्हाल्दै सर्बाधिक ५१ रन बनाए। यस्तै पृथु बास्कोटाले १५ रन जोडे भने प्रदिप ऐरी २९ तथा कप्तन पारस खड्का २६ रनमा नटआउट रहे।

जवाफमा १४६ रनको लक्ष्य पछ्याएको मध्य पश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै ११९ रन मात्र बनाउन सक्यो। मध्य पश्चिमका लागि प्रनित थापाले सर्बाधिक ४० रन बनाएपनि जित दिलाउन सकेनन्। बलिङमा एपीएफका पारस खड्काले ३ विकेट लिए भने करण केसी, भुवन कार्की र शक्ति गौचनले समान १ विकेट लिए। 

यस्तै समूह बी को खेलमा पूर्वाञ्चल मध्यमाञ्चलसँग ४ रनले पराजित भएको छ।  १२१ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ११६ रन मात्र बनाउन सक्यो। पूर्वाञ्चलका कुनै पनि खेलाडीले २० रन पुरा गर्न सकेनन्।

मिनास थापाले सर्बाधिक १७ रन जोडे। बलि तर्फ हशिम अन्सारीले ३ तथा रुपेश श्रीवास्तवले २ विकेट लिए। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाएको थियो। मध्यमाञ्चलका लागि जितेन्द्र ठकुरीले सर्बाधिक ३१ रन बनाए भने अश्चल चौधरीले २७ तथा रसिद खानले २१ रन बनाए।

पुरुष क्रिकेटमा शनिबार समूह ए अन्तर्गत नेपाल आर्मी र सुदूरपश्चिम तथा समूह बी अन्तर्गत नेपाल पुलिस र पश्चिमाञ्चल बीच प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell