
काठमाडौं: गोकर्णको संयुक्त अपांग एकता आवाज केन्द्रमा शुक्रवार आधुनिक गीतहरुको एल्बम ‘भाव–सागर भाग–२’ तथा कविता संग्रह ‘भाग–सागर भाग–२’ सार्वजनिक गरिएको छ। अमेरिका बस्दै आएकी गीतकार तथा कवियत्री अम्बिका गुरुङले रचना गरेका गीतहरुको एल्बम तथा कविताहरुको संग्रह विमोचन भएको हो ।
केन्द्रमा आश्रय लिइरहेका ४१ जना अनाथ बालबालिकाहरुलाई सामुहिक भोजन तथा जाडोका न्याया लुगा वितरण गर्दै एल्बम तथा किताब लोकार्पण भयो ।
विमोचित एल्बममा संगीतकार प्रकाश लेप्चाद्वारा संगीतबद्ध आधुनिक, लोक आधुनिक तथा पप शैलीका गीतहरु समावेश छन्। एल्बमका गीतहरुमा राजेशपायल राई, दीपक लिम्बु, रिमा गुरुङ होडा, मिलन अमात्य तथा राज सिग्देलद्वारा स्वर दिएका छन्।
समारोहमा सार्वजनिक गरिएको कविता संग्रह ‘भाव–सागर भाग–२’ मा एक सय कविताहरु समावेश छन्।कविता संग्रहलाई बुद्धिबहादुर गुरुङले प्रकाशन गरेका हुन्। समारोहमा आफ्नो लिखित सन्देश पठाउ“दै कवयित्री गुरुङले सबै प्रकृतिका कविताहरु समावेश गरिएकाले एल्बमको शीर्षक ‘भाव सागर’ राखिएको जानकारी गराइन्।
‘संग्रहका कविता तथा गीतहरु भित्र थुप्रै मनका भावहरु फक्रिएर रहेका छन्, गीतकार गुरुङको भनाइ छ,‘कविता भित्र कतै आफ्ना छोराछोरीहरुलाई अर्ती दिइरहेकी एउटी आमा भेटिन्छिन् भने कतै एउटा जवान त कतै अल्लारे केटाकेटीहरुमा भित्री मनमै बसिरहेको चेष्टा गरेकी छु।’
समारोहमा अतृप्त पाण्डेय तथा रीता गुरुङले विमोचित कविता संग्रहका ‘मेरो कथा’ तथा ‘अर्कै नयाँ बाटोको खोजी’ शीर्षकका कविता वाचन गरेका थिए।