
मस्को (रसिया) : रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले डोनाल्ड ट्रम्पको विजय रसिया बाहेक अन्यलाई अकल्पनीय रहेको बताएका छन्।
अमेरिकी जनताको सोचलाई सही रुपमा अध्ययन गरी उनीहरुको भावनाअनुरुप निर्वाचन अभियान सञ्चालन गरेर उनले राष्ट्रपतिमा विजय हासिल गरेको पुटिनको भनाइ छ। आफ्नो वार्षिक प्रेस सम्मेलनका क्रममा पत्रकारसँग कुरा गर्दै उनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले सही ढङ्गले अमेरिकी नागरिकको भावनाको अध्ययन गरेको बताए। 'उनीहरुको भावना अनुकूल अघि बढेकाले विजयी बनेका हुन्,' पुटिनले भने, 'उनले निर्वाचनको अन्त्यसम्म अविश्वसनीय तरिकाले आफ्नो अभियानलाई अघि बढाए। यसलाई रसियाबाहेक अन्य मुलुकले बुझ्न सकेको थिएनन्।'
के अमेरिकी जनताले उनलाई समर्थन गर्छन् भन्ने सञ्चारकर्मीको प्रश्नमा पुटिनले भने, 'मैले ठूलो सङ्ख्यामा रिपब्लिकन समर्थकले रसियाली राष्ट्रपतिलाई समर्थन गर्छन् भन्ने त लाग्दैन तर उनीहरुले रसियाको परम्परागत सोचलाई मन पराउँछन्। यो नै रसिया र अमेरिकाबीच सम्बन्ध विस्तार गर्ने सही सुरुआत हुन सक्छ।'
अमेरिकी डेमोक्रेटिक पार्टीका इमेल ह्याक गर्ने कुरा महत्पूर्ण नभएको बताउँदै यो जसले गरेको भए पनि अमेरिकी जनतालाई ‘सही सूचना’ प्रवाह इमेल चुहावटबाटै भएको पुटिनले बताए।
वासिङटनले रसियामाथि इमेल ह्याकको आरोप लगाएकाप्रति सङ्केत गर्दै पुटिनले क्रेमलिनले नै यसबारे पटकपटक खण्डन गरिसकेको बताए। 'यो त निर्वाचनमा पराजित समूहले आफ्नो नाक जोगाउने प्रयास मात्र हो,' उनले भनेका छन्।रासस/एएफपी