PahiloPost

Apr 2, 2025 | १९ चैत्र २०८१

नेपालको स्याटेलाइटका लागि चीन, भारत र अमेरिकी कम्पनीको आवेदन



पहिलोपोस्ट

नेपालको स्याटेलाइटका लागि चीन, भारत र अमेरिकी कम्पनीको आवेदन

काठमाडौं : नेपालको आफ्नै स्याटेलाइट अन्तरिक्षमा पठाउन नेपाल दुरसञ्चार प्राधिकरणले गरेको टेण्डरमा १३ देशका २० कम्पनीले इच्छा देखाएका छन्।
 
पहिलो चरणको विज्ञापनमा कसैले चासो नदेखाएपछि प्राधिकरणले थप गरेको समयमा यी आवेदन परेका हुन्। टेन्डरको म्याद बुधबार सकिएको छ।
 
स्याटेलाइटका लागि विश्वका प्रतिष्ठित सूचना प्रविध सम्बन्धि कम्पनीले आशयपत्र पेश गरेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए। भारत सरकार स्वामित्वको अन्तरिक्ष कर्पोरेसन लिमिटेड देखि चीनको ग्रेटवाल लगायत तीन वटा कम्पनीले आवेदन दिएको उनले जानकारी दिए।
 
प्रख्यात अमेरिकी कम्पनी इन्टेल स्याटले पनि नेपाली स्याटेलाइटका लागि आवेदन पेश गरेको छ। त्यस्तै अमेरिकाबाटै पौल स्याट, स्पेस पार्टनरसीप, स्पेस सिस्टम लोरल गरी अरु तीन कम्पनीले इच्छा देखाएका छन्।
 
आवेदन गर्ने अन्य कम्पनीमा दक्षिण कोरिया, सिंगापुर, क्यानडा, इजरालय, फ्रान्स, साउदी अरब, मलेसिया र थाइल्यान्डका छन्।
 
सञ्चार मन्त्रालयले दुरसञ्चार प्राधिकरणलाई गत असोजमा स्याटेलाइट स्थापनाका लागि बोलपत्र माग गर्न निर्देशन दिएको थियो।
 
अब प्राधिकरणले मन्त्रालयसँग समन्वय गरि आशयपत्र पेश गर्ने कम्पनीमध्ये बिजनेस मोडालिटी, आर्थिक क्षमता तथा प्राविधिक ज्ञान र अनुभवका आधारमा ६ वटालाई सर्टलिस्टिङ गर्ने अर्यालले जानकारी दिए।
 
त्यसमा सर्वोत्कृष्ट ठहरिने कम्पनीलाई सरकारले नेपाली स्टाटेलाइट पठाउने तयारीको जिम्मा दिनेछ। उक्त कम्पनीले अन्तरिक्षमा नेपाली स्याटलाइट राख्ने बारे सर्भे, डिजाइन, खरिद, स्थापना, सञ्चालन र मर्मतसम्भारलगायत विषयमा सरकारलाई सुझाउनेछ।
 

नेपाललाई के फाइदा?

नेपालले अन्तरिक्षमा आफ्नै स्याटेलाइट प्रक्षेपण गरेपछि दुरसञ्चारको क्षेत्रमा नयाँ फड्को मार्नेछ।
 
नेपाललाई दुरसञ्चार, टिभी सिग्नल, इन्टरनेट लगायत अन्य सञ्चारको क्षेत्रमा पनि लागत कम पर्नेछ। हाल नेपालका टेलिभिजन च्यानलले थाइकम लगायत अन्य भारतीय र चिनियाँ स्याटेलाइटमा भर पर्नुपरेको छ। अब त्यसको अन्त्य हुनेछ। विदेशी स्याटेलाइट प्रयोग गरेबापत विदेशीने रकम पनि नेपालमै रहनेछ।
 
विदेशीको स्याटेलाइटबाट सेवा खरिद गर्न धेरै महङ्गो पर्ने कारण अहिले नेपालका टिभी च्यानलले विश्वभर आफ्नो सिग्नल पुर्‍याउन सकिरहेका छैनन्। मुलुकको आफ्नै स्याटेलाइट भएपछि अहिले बिबिसी र सिएनएनले जस्तै नेपाली च्यानलहरुले विश्वभर उपस्थिति जनाउन सक्नेछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell