PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

भारतबाट ल्याइने विद्युत राजधानी भित्र्याउन समस्या, यस्ता छन् कारण



रासस

भारतबाट ल्याइने विद्युत राजधानी भित्र्याउन समस्या, यस्ता छन् कारण

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप विद्युत् आयात गरे पनि तत्काल काठमाडौँ उपत्यकामा ल्याउन समस्या हुने बताएको छ।
 
निर्माणको क्रममा रहेको खिम्ती–ढल्केबर प्रसारण लाइन र हेटौँडा–स्यूचाटार प्रसारण लाइनको काम जारी रहेका कारण भारतबाट थप विद्युत् आयात भए पनि काठमाडौँ ल्याउन समस्या हुने भएको हो।
 
भारतबाट आयात हुने थप विद्युत् हेटौँडासम्म ल्याइने र पश्चिम र राजधानी नजिकका आयोजनाबाट पूर्व पठाइएका विद्युत् राजधानीमा नै केन्द्रित गर्ने तयारी नेपाल विद्युत् प्राधिकरणको रहेको छ।
 
भारतबाट यही पुस १७ गतेबाट ४० मेगावाट विद्युत् थप हुनेछ भने आगामी माघ १६ गतेबाट थप ४० मेगावाट विद्युत् आयात गर्ने गरी भारतीय पक्षसँग विद्युत् खरिद सम्झौता गरिएको छ।
 
ढल्केबर केन्द्रबाट आयात हुने विद्युत्लाई तत्काल हेटौँडा ल्याउने गरी आवश्यक व्यवस्था मिलाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।  खिम्ती– ढल्केबर प्रसारण लाइनको काम यसै महिनाको अन्त्यसम्म सम्पन्न गर्ने तयारी गरिएको छ।
 
आगामी हिउँदमा काठमाडौँलाई विद्युत्भार कटौतीमुक्त गराउन सबै उपाय अवलम्बन गरिरहेको प्राधिकरणले खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भने सहज रुपमा भारतबाट ल्याइएको विद्युत् खिम्ती–काठमाडौँ प्रसारण लाइनबाट राजधानी भित्र्याउने छ।
 
यस्तै हेटौंडा–स्यूचाटार प्रसारण लाइनको स्तरोन्नतिको काम जारी रहेको र त्यसका लागि एकाध महिना समय लाग्ने भएकाले उपयुक्त विकल्पको रुपमा खिम्ती–ढल्केबर प्रसारण लाइनलाई नै लिइएको छ।
 
मुलुकभित्रका विद्युत्गृहबाट हेटौँडातर्फ प्रवाह गरिएको बिजुलीलाई काठमाडौँतर्फ मोड्न सकिने भएकाले विद्युत्भार कटौती अन्त्य गर्न सहज हुने प्राधिकरणको विश्वास रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell