
चुनवाङ (रुकुम) : शनिबार रुकुम पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमको चुनवाङदेखि म्याग्दीको बेनीसम्म जोडिने गुरिल्ला ट्रेल एवं युद्ध संग्रहालयको उद्घाटन गरे।
जनवादी गणतन्त्र स्थापनाको कार्यनीतिलाई बदलेर संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गर्ने रुकुमको चुनवाङ बैठकको धेरैले चर्चा गर्ने गरेका छन्। सोही स्मरणमा गुरिल्ला ट्रेल र युद्ध संग्रहालयको स्थापना गरिएको थियो।
‘भर्खरै जस्तो लाग्छ, १२ वर्ष बितिसकेछ। यही घरमा केन्द्रीय समितिको पूर्ण बैठक बसेको थियो,' कार्यक्रममा प्रधानमन्त्रीले सम्झिए, 'चुनवाङ बैठकका नामले परिचित त्यो बैठक माओवादी पार्टीको जीवनमा मात्रै नभएर देशमै उथलपुथल ल्याउने युगान्तकारी बैठक बन्यो। बैठकको निर्णयबाटै हामी १२ बुँदे समझदारीमा पुग्यौं, जनआन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा पुग्यौं।'
१२ वर्षपछि जनमुक्ति सेनाले पैदल यात्रा गरेको स्मरणमा गुरिल्ला ट्रेल र जनयुद्धको ऐतिहासिक झल्कने युद्ध संग्रहालयको उद्घाटन गर्न पाउँदा आफू हर्षित् र भावुक भएको पनि उनले बताए।
चुनवाङ बैठक नै नेपालको राजनीतिलाई मोडिदिएको उनको भनाइ थियो। कार्यक्रममा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, वर्षामान पुन ‘अनन्त’, गणेशमान पुन, जोखबहादुर महरा लगायतको उपस्थिति थियो।
तात्कालीन नेकपा (माओवादी) ले म्याग्दीको बेनी आक्रमणमा चुनवाङदेखि बेनीसम्म पैदल यात्रा गरेको इतिहासलाई स्मरण गरी चुनवाङदेखि बेनीसम्म गुरिल्ला ट्रेलको परिकल्पना गरिएको हो। सो मार्ग अहिले पर्यटकीय पदमार्गको रुपमा स्थापित हुँदै गएको माओवादी नेता एवं पूर्वमन्त्री गणेशमान पुनले बताए।
पोखरादेखि बेनी हुँदै रोल्पा र रुकुमका रमणीय गाउँहरु पार गर्दै चुनवाङ आइपुग्न १५ दिनको समय लाग्नेछ। यसैगरी चुनवाङदेखि घोराहीसम्म पद यात्रा गर्न सकिने पूर्वमन्त्री पुनले जानकारी दिए।
गुरिल्ला ट्रेलसँगै उद्घाटन गरिएको युद्ध संग्रहालयमा तात्कालीन नेकपा (माओवादी) को नेतृत्वमा सञ्चालित जनयुद्ध, त्यसका ऐतिहासिक घटनाक्रम, महत्वपूर्ण निर्णय लगायतका जनयुद्धसँग सम्बन्धित ऐतिहासिक सामाग्रीहरु सुरक्षित रहनेछन्।