पोखरा : राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पूर्वाञ्चलमा शुक्रबारबाट सुरु सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका ३० खेलमध्ये लनटेनिस खेल पोखरामा शनिबारदेखि सुरु भएको छ। सातौंमा समावेश ३० खेलमध्ये २७ खेल मात्र पूर्वाञ्चलमा हुँदैछ। त्यसबाहेक लन टेनिस पोखरा, फेन्सिङ काठमाडौं र स्क्वास ललितपुरमा अयोजना हुनेछ।
प्रतियोगितामा पुरुष ४० तथा महिला २२ गरी ६४ जना खेलाडीले १६ स्वर्ण, १६ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिता पुस १३ गतेसम्म सञ्चालन हुने जनाएको छ
व्यवस्थापिका संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले सो प्रतियोगिताको पोखरा रङ्गशालामा उद्घाटन गर्दै पोखरामा हुने दक्षिण एसियाली खेलकूद प्रतियोगिताका लागि भौतिक संरचना विकासमा जोड दिइनुपर्ने बताए। पोखराको पर्यटन प्रवद्र्धनमा खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि उनले बताए।
प्रतियोगितामा विभागीय समूह नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा पाँच विकास क्षेत्रका पाँच समूह गरी आठ समूहको सहभागिता रहेको लन टेनिस सङ्घका केन्द्रीय अध्यक्ष ज्योति राणाले जानकारी दिए। रासस