सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा विभागिय टीमहरु नेपाल आर्मी र नेपाल पुलिसले शनिबार जित हासिल गरेका छन्। आर्मीले सुदूरपश्चिमाञ्चललाई ८७ रनको फराकिलो अन्तरले हरायो भने पुलिसले पश्चिमाञ्चललाई १७ रनले पराजित गर्यो।
समूह ए अन्तर्गत टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले नरेश बुढाएरको नटआउट ८१ रनको मद्वतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रनको उच्च स्कोर बनाएको थियो। ४३ बल खेलेका नरेशले समान ५ चौका र छक्का प्रहार गरे।
यस्तै ओपनर सागर पुनले ४४ तथा कप्तान विनोद भण्डारीले ३४ रनको योगदान गरे। अनिल मण्डलले २० रन बनाउँदा राजु रिजाल २२ रनमा नटआउट रहे। जवाफमा २१० रनको उच्च स्कोर पछ्याएको सुदूरपश्चिमले २० ओभरमा ५ विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो।
सुदूरपश्चिमका ओपनर रोशन नेपालले अर्धशतक पुरा गरेपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। दिपक मल्लले २२ तथा प्रकाश थापाले २० रन जोडे। बलिङतर्फ आर्मीका विक्रम शोब, सागर पुन, राहुल विक र राजेश पुलामीले समान १ विकेट लिए।
दोस्रो खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चललाई १७ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धाति २० ओभरमा ५ विकेट गमाई १ सय ४५ रन बनाएको थियो। कप्तान मन्जित श्रेष्ठले ३२ बलमा ३ छक्का र २ चौका प्रहार गरी अविजित ४९ रन, दिपेन्द्र ऐरीले अविजित २८ रनको योगदान गरेका थिए। पश्चिमाञ्चलका साह आलमले २ विकेट लिए।
जवाफमा १ सय ४७ रनको विजय लक्ष्य पछ्याएको पश्चिमाञ्चलले निर्धारित ओभरमा ८ विकेट गुमाई १ सय २९ रनमात्र जोड्न सक्यो। शुसान्त भारीले अविजित ३२ रन र लालबहादुर अधिकारीले २७ रन बनाएका थिए। पुलिसका ललितसिंह भण्डारीले ३ विकेट र दिपेन्द्र ऐरीले २ विकेट लिए।